चिनियाँ विदेशमन्त्रीलाई एमाले अध्यक्ष ओलीले के भने ?
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
668
Shares
तस्बिर : रासस
काठमाडौँ। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। तीन दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुअघि उनले नक्सालस्थित होटेल मेरियटमा ओलीसँग भेटवार्ता गरेका हुन्।
‘अध्यक्षज्यूले भेटमा पछिल्लो समयमा खास गरी विआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ्स)सँग जोडिएर जुन आयोजनाहरू हामीले अघि बढाउन सहमति गरेका छौँ, तिनीहरूलाई निरन्तरता दिनुपर्छ। तिनीहरूलाई छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्ने धारणा राख्नुभयो,’ भेटवार्तामा सहभागी एमाले स्थायी कमिटी सदस्य राजन भट्टराई भने।
भेटमा द्विपक्षीय विषयका धेरै मुद्दामा छलफल भएको उनले जनाए। नेपालले फाइदा लिन सक्ने सडक, रेल, सिँचाई, जलविद्युत उत्पादन, नाकाहरू निर्माण, स्वास्थ्य तथा शिक्षाका आयोजनाहरू छिटो अघि बढाउनु पर्ने धारणा अध्यक्ष ओलीले राखेका थिए।
‘कोरोना महामारीपछि नेपालमा केही समस्या उत्पन्न भएका छन्। नाकाहरू बन्द भएका छन्। नाकाहरू खुल्नु पर्यो। नेपाली विद्यार्थी जो चीनमा अध्ययनरत थिए, कोरोनाका कारण उनीहरू फर्केर आएका थिए। छिटो उनीहरूलाई फर्काएर पढाई सुचारु गर्नुपर्यो,’ अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै भट्टराईले भने।
हुम्लाभन्दा पारी चीनमा करिब पाँच सय जना नेपालीहरू अड्किएको बारेमा पनि ओलीले चिनियाँ विदेशमन्त्री समक्ष कुरा राखेका थिए। यसबारे सत्य तथ्य पत्ता लगाएर चीनमा नेपाली अड्किएर बसेको अवस्था हो भने छिटो फर्काउने व्यवस्था मिलाउन उनले अनुरोध गरेका थिए।
जवाफमा चिनियाँ विदेशमन्त्री वाङले सहमति छिटो कार्यान्वयन तर्फ लैजाने प्रतिबद्धता दोहोर्याएका थिए। उनले ठुलो र सानो राष्ट्रको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने चीन र नेपालले देखाएको समेत बताए।