'एमसीसी पास गर्यौं कांग्रेसलाई भोट देउ भनेर जनतामाझ जानुपर्छ'
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
922
Shares
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीबारे सत्यतथ्य बुझाएर कांग्रेसले जनतासँग भोट माग्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा नेता पौडेलले एमसीसी पास गर्ने कांग्रेस हो भनेर जनतामाझ जानुपर्ने र कांग्रेसलाई जिताउन भोट माग्नुपर्ने उल्लेख गरे ।
एमसीसी नेपालको विकासका निम्ति आवश्यक रहेको चर्चा गर्दै उनले भने, “कांग्रेसले एमसीसी पास गर्यो, त्यही कारण कांग्रेसलाई भोट देउ भनेर जनतामाझ जानुपर्छ ।” एमसीसी परियोजनामार्फत उत्पादन हुने बिजुली बेचेर नेपाललाई धनी बनाउन सकिने उनको भनाइ थियो ।
नेपालको गरिबी अन्त्यका लागि एमसीसी परियोजना सफल हुने उल्लेख गर्दै नेता पौडेलले एमसीसीको विरोध गर्नेहरु राष्ट्रघाती भएको आरोप लगाए । “देश विकास गर्ने पार्टी कांग्रेस हो, देशलाई कांग्रेसले मात्रै बलियो बनाउँछ,” पौडेलले भने, “देशको भविष्य सोचेर कांग्रेसले दूरदर्शी निर्णय गरेको छ । यही कुरा जनतालाई बुझाउनुपर्छ ।”
कांग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेल, जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, क्षेत्रीय सभापति विषेश्वर खनाललगायतले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।