काठमाडौं । बलिउड चलचित्र ‘द कश्मीर फाइल्स’ ले इतिहास रचेको छ । प्रायः बलिउड चलचित्रको कमाइ सप्ताहन्त (शनिबार र आइतबार) मा सबैभन्दा बढी हुने गरेको छ । तर यो ‘द कश्मीर फाइल्स’ ले पहिलो र सप्ताहन्तको भन्दा पनि पछि पछि झन् बढी कमाइ गर्दै कीर्तिमान बनाएको छ ।
चलचित्र रिलिजको आठौं दिनमा यसले सय करोड भारु क्लबमा सामेल हुने अवसर पाएको छ । फिल्मले आठौं दिन १९.१५ करोड भारु कमाएको छ ।
११ मार्चमा रिलिज भएको फिल्मले अहिलेसम्म ११६.४५ करोड भारु कमाइसकेको छ । आइतबारसम्म यो फिल्म १५० करोड क्लबमा सामेल हुने फिल्म पंडितहरुको अनुमान छ ।
यो फिल्मको एडभान्स बुकिङसमेत धेरै नै रहेको छ । फिल्मले आमिर खानको दंगललाईसमेत पछाडि धकेलेको छ । दंगलले आठौं दिन १८.५९ करोड कमाएको थियो ।
यस्तै गत शुक्रबार १८ मार्चमा रिलिज भएको अक्षय कुमारको बच्चन पांडेले पहिलो दिन १३.२५ करोडमात्र कमाइ गरेको छ ।
कश्मीर फाइल्सको क्रेज भने बढ्दै गएको छ । पहिलो दिन ६५० स्क्रिनमा मात्र रिलिज भएको यो फिल्म आठौं दिन ४ हजार स्क्रिनमा देखाइयो ।