लिभरपुलले सिटीसँगको अंक दूरी घटायो, यस्तो छ समग्र अवस्था
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
489
Shares
काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा रहेको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी घटाएको छ ।
कुनै समय उपाधि यात्रामा एक्लै अगाडि बढेको सिटीले पछिल्लो समय त्यो गतिलाई निरन्तरता दिन नसक्दा भने त्यसको फाइदा लिभरपुललले लिएको छ ।
शनिबार राति भएको खेलमा वेस्ट ह्याम युनाइटेड विरूद्ध जित निकाल्दै लिभरपुलले अंक दूरी ३ मा झारेको हो ।
घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा सादियो मानेले खेलको २७ औं मिनेटमा निर्णायक गोल गरे ।
सिटीले आज राति १०ः१५ बजे म्यानचेस्टर युनाइटेडसंग घरेलु मैदानमा खेल्नेछ । यो खेलमा सिटी पराजित भएमा लिभरपुलको पनि उपाधि दावेदारी अझै खुला हुनेछ ।
यता तेस्रो स्थानको चेल्सीले शनिबार राति सहज जित निकालेको छ । चेल्सीले बर्नलीलाई ४–० ले हराएको हो । चेल्सीको एकतर्फी जितमा काइ हाभर्ट्जले दुई गोल गरे ।
रिस जेम्स र क्रिस्चियन पुलिसिचले १–१ गोल गरे । खेलको ४७ औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई शुरुआती अग्रता दिलाए ।
५२ औं मिनेटमा हाभर्ट्जले गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए । हाभर्ट्जले ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सीले ३–० को अग्रता बनायो ।
त्यसपछि खेलको ६९ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई ४–० को जित दिलाए ।