अफगानिस्तानमा ८ स्वास्थ्यकर्मीको हत्या गरेको घटनाको राष्ट्रसङ्घद्वारा निन्दा
एजेन्सी,
प्रकाशित २०७८ फागुन १९ बिहिबार
463
Shares
फाइल तस्बिर
न्युयोर्क। संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा आठ पोलियो कार्यकर्ताको क्रूर हत्या गरेको घटनाको निन्दा गरेको छ। दक्षिणी अफगानिस्तानको कान्दाहारमा बालबालिकालाई पोलियो विरुद्धको खोप लगाउन खटिएका ८ स्वास्थ्यकर्मीहरूको अज्ञात समूहले हत्या गरेको हो।
संयुक्त राष्ट्र सङ्घले जारी गरेको विज्ञप्तिमा कुन्दुज र तखार प्रान्तमा राष्ट्रिय पोलियो खोप अभियान तुरुन्तै स्थगित गर्न आग्रह गरेको छ। अफगानिस्तानका लागि महासचिवका उप विशेष प्रतिनिधि रामिज अलकबारोभले तालिबान सरकारले सुरक्षा दिन नसकेको भन्दै कडा शब्दमा निन्दा गरे। उनले आक्रमण र हत्याहरू अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको उल्लेख गरेका छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयसियसले पनि आफ्नो गहिरो शोक व्यक्त गरेका छन्।
'हामी उनीहरूको परिवार र सहकर्मीहरूप्रति गहिरो समवेदना प्रकट गर्दछौँ,' उनले लेखे,'स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्नु हुँदैन। संयुक्त राष्ट्र सङ्घको टोली हत्याको क्रूरताबाट स्तब्ध भएको छ।' स्वास्थ्यकर्मीहरू आक्रमणमा परेको यो पहिलो पटक होइन।
गत वर्ष राष्ट्रिय पोलियो खोप अभियानका क्रममा नौ पोलियोकर्मीको हत्या भएको थियो।
'यी खोप अभियानहरू लाखौँ बालबालिकालाई पोलियोबाट जोगाउनको लागि उनीहरूसम्म पुग्ने एक महत्त्वपूर्ण र प्रभावकारी माध्यम हो,' संयुक्त राष्ट्र सङ्घको विज्ञप्तिमा भनिएको छ र तिनीहरूलाई स्वस्थ जीवनको आश्वासनबाट वञ्चित गर्नु अमानवीय हो। यो मूर्खतापूर्ण हिंसा तुरुन्तै बन्द हुनुपर्छ, र जिम्मेवारहरूलाई छानबिन गरी न्यायको दायरामा ल्याउनु पर्छ।'