एमसीसी पारित भएपछि सत्ता समर्थक जनमोर्चासहित आठ कम्युनिष्ट घटकले सोमबार नेपाल बन्द गर्ने
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
927
Shares
तस्बिर – नयाँ बानेश्वरमा एमससीको विरोध गर्दैै सडकमै टायर बालेका एक युवा आइतबार ।
काठमाडौं । लामो समयको रस्साकस्सीपछि सफलतापूर्वक शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिनिधि सभाको बैठकबाट अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्न सफल भएको छ । एमसीसी पारित भएसँगै एमसीसीको विरोधमा उत्रिदै आएका आठ साना वाम घटकले आन्दोलनको घोषणा गरेका छन् ।
सोअनुसार आइतबार बेलुकी मसाल जुलुस निकाले भने सोमबार नेपाल बन्दको घोषणा गरेका छन् । नेपाल बन्द घोषणा गर्नेमा सत्ता समर्थक दल राष्ट्रिय जनमोर्चासमेत रहेको छ ।
त्यसैगरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, आहुती संयोजक रहेको वैकल्पिक समाजवादी कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंहको नेपाल कम्युनिष्ट पार्टी मसाल, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, सीपी गजुरेलको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेलको नेपाल कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकीको पार्टी रहेको छ ।
त्यसो त आइतबारमात्रै संसद भवन नयाँबानेश्वर वरिपरि ४० भन्दा बढी दलले एमसीसीको विरोध गरेका थिए । अन्य दलहरु भने आपसेआप पछाडि हटेका छन् ।
बन्द आह्वान गर्ने दलहरुले विगतमा पनि निरन्तर एमसीसीको विरोध गर्दै सडक आन्दोलन गर्दै आएका हुन् ।