एमसीसी संसदबाट अनुमोदन गर्ने माओवादी केन्द्रको निर्णय
पाँच नेताको असहमति
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
659
Shares
तस्बिर– फाइल
काठमाडौं । अन्ततः नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) मा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । गठबन्धन टुट्ने भएपछि माओवादी केन्द्रले सो निर्णय गरेका छ । यसबाट सत्तागठबन्धन जोगिने भएको छ ।
आइतबार विहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो । प्रचण्डको निवास खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक बसेको थियो । बैठकपछि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
आइतबार बिहान एमसीसीबारे छलफल गर्न नेकपा (माओवादी) केन्द्रको केन्द्रीय कार्यालयको अनौपचारिक बैठक बसेको थियो । परिमार्जनसहित एमसीसी पारित गर्न माओवादी नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा जुटेका थिए । ११ बुँदे परिमार्जनसहित एमसीसी पारित गर्नका लागि गठबन्धन सहमति नजिक पुगेपछि माओवादीले सो निर्णय गरेको हो ।
परिमार्जनको ड्राफ्टसमेत तयार भइसकेको छ । त्यही ड्राफ्टका विषयमा छलफल गर्न माओवादी नेताहरूले छलफल गरेका थिए । एमसीसी पारित गर्ने विषयमा माओवादीमा पनि दुई धार रहेको छ ।
एक पक्ष अहिलेकै अवस्थामा कुनै पनि हालतमा एमसीसी सम्झौतालाई पारित गर्न नसकिने अडानमा रहेको छ । अर्को पक्ष भने गठबन्धन जोगाउनका लागि एमसीसीको विषयमा लचक देखिएको छ ।
माओवादी बैठक लगत्तै गठबन्धनको बैठक बसेर परिमार्जनको मस्यौदालाई अन्तिम रूप दिने नेताहरूको तयारी छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा एमसीसीमाथिको छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ । प्रतिनिधि सभाको बैठकअघि नै गठबन्धनमा सहमति जुटाउने नेताहरूको तयारी गरेका छन् ।
सो निर्णयमा माओवादीका पाँच नेताले असहमति राखेका छन् । असहमति राख्नेमा नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, र कृष्णबहादुर महरा, लीलामणि पोखरेल र देव गुरुङ रहेका छन् ।