arrow

बस्दै प्रतिनिधि सभा बैठक, एमसीसी कार्यसूचीमा, साढे ११ बजे कार्यव्यवस्थाको बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
Parliament_building-1619601493.png
तस्बिर– फाइल

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल शुरु हुने बताइएको छ । सोही अनुसार आजको सम्भावित कार्यसूचीमा एमसीसी समावेश गरिएको छ । 

संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।  

यसअघि सरकारको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको थियो । शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि बैठक आजका लागि सारिएको हो ।

संसद बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक आज बिहान साढे ११ बजे नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ ।

हाल प्रतिनिधिसभामा २ सय ७१ सदस्य कायम छन् । एमालेका ९८, कांग्रेसका ६१, सभामुखसहित माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९, लोसपाका १३ र राप्रपा, जनमोर्चा, नेमकिपा र स्वतन्त्र एक–एक सांसद छन् ।

एमसीसीबारे अझै सत्ताधारी गठबन्धनमा सहमति नभइसकेको अवस्थामा अगाडि बढ्न कठिन भइरहेको छ । यद्यपि व्याख्यात्मक विधिमार्फत एमसीसी पास गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राजी भएको बताइएको छ । 

दुवै दलले अन्तिम निर्णय गर्नका लागि पार्टीको बैठक डाकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ