एमसीसीबारे यथार्थ नबुझी नेताहरुको राजनीतिक मुद्दाको शिकार नबनौं
भावना शाही,
प्रकाशित २०७८ फागुन १२ बिहिबार
945
Shares
तस्बिर– फाइल
काठमाडौं । नेपालको व्यापार घाटा र ऋण बर्सेनि बढ्ने क्रममा छ। यस्तो अवस्थामा सडक निर्माण र विद्युत ग्रिडको काम गर्न आउने ५५ अर्बको अनुदानको नेपाललाई खाँचो छ । नेपालसँग जति पैसा भए पनि यी परियोजनामा यति धेरै रकम लगानी गर्न धेरै गार्हो छ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अमेरिकाको पोलिटिकल एजेण्डा हुने सम्भावना धेरै छ ।
तर पनि एमसीसी अमेरिका सरकारले नेपाललाई जबर्जस्ती थुपारेको हैन । ३० भन्दा बढी राष्ट्र सँग प्रतिस्पर्धा गरेर थर्ड पार्टी इभालुएसनबाट अंक पुर्याएर नेपालले हात परेको परियोजना हो ।
यो नेपालले नै बनाएको योजनाको लागि अमेरिकाको कांग्रेसले प्रदान गरेको अनुदान हो । सन् २०११ देखि प्रक्रियामा गएर २०१७ मा हस्ताक्षर गरेर केही अनुदानको रकमसमेत नेपाल सरकारले लिइसकेको छ। यति गरेर फेरि खारेज गर्न खोज्दा अमेरिकाले आपत्ति जनाउनु आश्चर्यजनक लाग्दैन ।
अहिले एमसीसी लाई नेपालमा प्रष्ट रुपमा राजनीतिक मुद्दा नै बनाइएको छ । जनता त लोकतन्त्र स्थापना गर्दा पनि उत्तिकै उफ्रिएका थिए । अनि ऋतिक रोशनको काण्डमा पनि । विपक्षी दलहरुले जनतालाई हतियार बनाउन केही गार्हो छैन नेपालमा ।
विश्वका ४६ देशमा पास भइसकेको एमसीसी, थुप्रै देशमा विना कुनै अमेरिकी हस्तक्षेपमा पहिलो चरण समाप्त पनि भइसक्यो । धेरै राष्ट्रले दोस्रो चरणको परियोजनाको लागि पनि माग गरेर काम शुरु गरिसकेका छन् । ती देशमा अमेरिकाको सैनिक परिचालन पनि भएको छैन । न त देशको लागि एमसीसी राष्ट्रघाती कदमको रुपमा साबित भएको छ ।
अमेरिकी परियोजनाको प्रकृति नेपालमार्फत भारतलाई फाइदा दिलाउने खालको छ । त्यसकारण चीनले नेपाललाई खेदो खन्ला भन्ने एउटा जोखिमको कल्पना भने गर्न सकिन्छ ।
तर अर्को पक्षबाट हेर्दा अमेरिका शक्तिशाली राष्ट्र हो । एमसीसी हस्ताक्षर गरेर फिर्ता गर्दा नेपाललाई आउन सक्ने अन्य वैदेशिक अनुदान र ऋण पनि पाउने सम्भावना न्यून हुने अवस्था नआउला भन्न सकिन्न ।
एमसीसी पास गरेर नेपालमा जस्तै राजनीतिक तनाव भएर श्रीलंकाले खारेज गरेको थियो। अहिले श्रीलंका अत्यधिक आर्थिक संकटमा छ। कि पहिलै अनुदानको लागि पहल नगरेको भए हुन्थ्यो अथवा हस्ताक्षर नगरेको भए हुन्थ्यो, अहिले ढिला भइसकेको छ।
अन्त्यमा, एमसीसी ल्याउनै पर्छ भन्ने पक्षमा म हैन । तर जनताले एमसीसी खास के हो भन्ने प्रष्ट हुनु पर्छ । यथार्थ राम्ररी नबुझी नेताहरुको ‘राजनीतिक मुद्दा’को शिकार भएर नयाँ बानेश्वरमा पुलिसको लाठी खान जाने सोझासाझा आम जनताप्रति मनमा सहानुभूति जागेर म यो भनाइ राखेर स्पष्ट पार्न वाध्य भएकी हुँ । (शाही नेपाली कांग्रेसकी नेतृ हुन्)