arrow

संसदमा एमसीसीबारे आजदेखि छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
Parliament_building-1619601493.png
तस्बिर– फाइल

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतामाथि आजदेखि प्रतिनिधि सभाको बैठकमा छलफल हुँदैछ । एमसीसी गत फागुन ८ गते संसदमा टेबल भएको थियो । 

अमेरिकाले यही फागुन १६ गतेभित्र सम्झौता संसदबाट टुंगो लगाउन नेपाल सरकारलाई अल्टिमेटम दिएसँगै शेरबहादुर देउवा नेतृत्वको सरकार तातेको हो । देउवाले सबै दलको सहमतिमा एमसीसी अनुमोदन गर्न पहल गरिरहेका छन् । 

तर पनि सत्ता साझेदार दलहरू नै एमसीसीको विपक्षमा उभिएका छन् । संसदमा टेबल गर्न दिने तर विपक्षमा मतदान गर्ने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको नीति रहेको छ । 

नेपाली कांग्रेसबाहेक जनता समाजवादी पार्टी (जसपा) ले अनुमोदन गराउनु पर्ने पक्षमा रहेको छ । जसपाभित्र डा. बाबुराम भट्टराई पक्ष ढुक्क छ भने अध्यक्ष उपेन्द्र यादवले मुख खोलेका छैनन् । र पनि नेता मनिष सुमनले भने मिडियामा जसपा एमसीसीकै पक्षमा रहेको बताएका छन् । 

सत्ताधारी बाहेकको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पक्षमा मतदान गर्ने निर्णय गरेको छ । त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पहिलेदेखि नै पक्षका लागि स्पष्ट भएको अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । 

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवा जतिसक्यो छिटो एमसीसी अनुमोदन गराउने तयारीमा जुटेका छन् । संसदमा छलफललाई छोटो बनाएर अनुमोदन गर्ने सरकारको गृहकार्य छ । 

दिउँसो १ बजे संसद बैठक बस्नुअघि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । 

यद्यपि संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ । सम्भावित कार्यसूचीअनुसार बैठक अघि बढे आज एमसीसीबारे छलफलको प्रस्ताव पेस हुनेछ । 

तर हिजोमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन् । यो छलफलले संसद कसरी अगाडि बढ्छ भन्ने दिशानिर्देशसमेत गर्न सक्नेछ । 

माओवादी एमसीसीको विपक्षमा रहेका अवस्थामा प्रचण्डले सभामुखलाई कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल गरेका हुन् । 

यता एमसीसी छलफलका लागि अगाडि बढाउन भन्नुपर्ने अर्थमन्त्री जनार्दन शर्मासमेत काठमाडौं बाहिर गएका छन् । देशको अहम् विषयमा छलफल हुँदै गर्दा उनी गैरजिम्मेवार बन्दै पर्वतको एक कार्यक्रमका लागि गएका हुन् । 

कांग्रेसले भने सबै सांसदलाई अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ