एमसीसीले दलहरुमा तरङ्ग, सत्ता गठबन्धनमा दरार, एमाले बार्गेनिङमा, नेकपा एस संकटमा
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
709
Shares
तस्बिर– फाइल
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश भएपछि प्रमुख प्रतिपक्ष दल एमालेले त्यस बारेमा कुनै पनि निर्णय गरेको छैन । एमालेको निर्णय विना नै एमसीसी पास हुने अवस्थामा गठबन्धनभित्र संकट उत्पन्न हुन्छ कि हुँदैन भन्ने आँकलन नगरी एमालेले कुनै पनि निर्णय नगर्ने भएको छ ।
तीन दिनदेखि आन्तरिक छलफलमा जुटेको एमालेले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटघाटमा पनि कुनै निर्णय नदिइ उठेर हिँडेको थियो । प्रधानमन्त्री देउवासँग एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल समेतले छलफल गरेको भए पनि आन्तरिक रुपमा कुनै सहमति नगरी बाहिरिएका थिए ।
‘कुराकानी धेरै भएका छन् तर सहमतिमा पुग्ने गरी केही कुरा भएको छैन, उहाँहरु गठबन्धन जोगाएर एमालेको सहमति खोज्नुहुन्छ त्यो संभव छैन’, छलफलमा सहभागी एक नेताले भने । छलफलको क्रममा प्रधानमन्त्री देउवाले माओवादी केन्द्र र माधवकुमार नेपालको कुनै भर नभएकाले एमालेको साथ खोजेको बताएका थिए ।
देउवाले एमालेलाई साथ दिन आग्रह गर्दै एमसीसी पास गरौं भनेका थिए । ‘अहिले नै सबै कुरा नबताउँ धेरै विषयहरु आएका छन्, प्रधानमन्त्रीले माओवादीसँगको सहकार्य पीडादायी भएको बताउनु भयो तर पनि सरकार छाड्दैनन् भन्ने गुनासो पनि गर्नुभयो । हेरौँ आज दिनभरमा के हुन्छ’, एमालेका एक उच्च नेताले भने ।
समानान्तर संवादमा
एमसीसी संसदमा पेश भएपछि सत्ता गठबन्धनको मात्र होइन विपक्षी दलका नेताहरुको पनि दौडधुप बढेको छ । सरकारमा रहेको नेपाली कांग्रेस बाहेक अन्य तीन दलले एमसीसीको विपक्षमा उभिने निर्णय नै गरिसकेका छन् ।
उनीहरुले त्यस्तो निर्णय गरेपछि कांग्रेसले सक्रियता बढाउनु स्वभाविक भए पनि विपक्ष दल र त्यस बाहिरका दल पनि सक्रिय भएका छन् । मंगलबार दिनभर माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) पार्टी, जसपाले संयुक्त छलफल गरे ।
मोहन वैद्य किरणले पुष्पकमल दाहाल प्रचण्डलाई एक्लै भेटघाट गरे । त्यस्तै अमेरिकी राजदूतले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरे । यी सबै परिस्थिति नियालेका प्रधानमन्त्री देउवाले मंगलबार साँझ ओलीलाई बालुवाटारमा आउन निम्ता दिएका थिए ।
ओली बालुवाटार जानुअघि देउवा आफैं ओली निवास पुगेर ओलीलाई बालुवाटार आउन सहज बनाएका थिए । प्रधानमन्त्री देउवाले माओवादी केन्द्र र नेकपा एसले धोका दिने शंका गर्दै एमालेसँग पनि संवाद जारी राखे पनि एमालेले ‘पर्ख र हेर’ को नीति लिएकाले खासै उपलब्धि बन्न सकेको छैन ।
मंगलबार देउवाले पार्टी उपसभापति पूर्णबाहादुर खड्कालाईसमेत राखेर एमाले अध्यक्ष ओलीसहितका नेताहरुसँग २ घण्टा बढी समय संवाद गरेका थिए । संवादको क्रममा प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न सहयोग मागेको र एमालेले संसदमा आफूलाई छलफल गर्ने वातावरण बनाउन आग्रह गरेका थिए । एमालेले भने आफूले उठाएको माग सम्बोधन गर्न आग्रह गरेको थियो ।
तर देउवाले एमालेको माग सम्बोधन गर्न नमानेपछि मंगलबारको बैठक सकारात्मक बन्न नसकेको हो । एमालेले १४ जना सांसदलाई कारबाही हुनुपर्ने वा सभामुख अग्निप्रसाद सापकोटाले मार्ग प्रशस्त गर्नुपर्नेमध्ये एक सम्बोधन गर्न आग्रह गरेको थियो ।
प्रधानमन्त्री देउवाले यो समस्या समाधानको विषय नभएको बताएका थिए । ओलीले पनि माग सम्बोधन नभएसम्म संसद अवरोध जारी राख्ने बताएका थिए ।
सत्ता गठबन्धन बाहिर छलफल
गठबन्धनभित्र असहमति राखेका तीन दलका शीर्ष नेताको भने एमसीसीबारे एउटै मत देखिएको छ । गठबन्धनभित्रै छलफल गरेर टुंग्याउनु पर्नेमा तीन दलका नेताहरुले छुट्टै गुटबन्दी गरेर एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारको निर्णयभन्दा विपक्षमा उभिने निर्णय गरे ।
आइतबार संसदमा पेश भएको एमसीसी प्रस्तावबारे निर्णय गर्न मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका थिए ।
मंगलबार दिउँसो माओवादी संसदीय दलको कार्यालयमा भएको छलफलमा उनीहरुले एमसीसीको विपक्षमा उभिने सहमति गरेका थिए । गठबन्धन घटकका तीन दलका नेताहरुले सो सहमतिपछि कांग्रेसका नेताहरुले पनि माओवादी र एस पार्टी अब गठबन्धनमा रहनुको औचित्य नभएको बताएका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मत हाल्ने निर्णय गरिसकेको छ । तर जसपामा भने अहिलेसम्म उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भने जसपामा एकमत हुन सकेको छैन ।
भट्टराई एमसीसीको पक्षमा छन् भने यादवले मुख खोलिसकेका छैनन् । मंगलबार भने प्रचण्ड र माधवसँग एमसीसीको विपक्षमा उभिने सहमति गरेका छन् ।सत्ता गठबन्धनलाई टिकाइ राख्न भन्दै एमसीसी सदनमा टेबल गर्न दिएका प्रचण्ड र नेपालले एमसीसी पास भएमा वा त्यो प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेर सरकार छाड्ने नछाड्ने अझै निर्णय गरेका छैनन् ।
प्रचण्डलाई सरकार छाड्न पार्टीभित्रबाट दबाब परिरहेको बेला उनले नेताहरुलाई केही दिन पर्खन आग्रह गरेका थिए । सभामुख अग्नि सापकोटालाई एमसीसी टेबल गर्नबाट नरोकेका उनले सरकार छाड्ने बारेमा निर्णय गर्न सकेका छैनन् ।
सापकोटाले पनि यसअघि एमसीसी टेबल गर्न परे पदबाट राजीनामा दिने बताएका थिए ।
राजीनामाको शर्त
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भएको संवादमा एमालेले सभामुखको राजीनामा नै संसद खोल्ने शर्त अघि सारेको छ ।
भदौदेखिनै संसद अवरोध गरिरहेको एमालेले सभामुखको राजीनामालाई प्रमुख शर्त बनाएको स्रोतको दाबी छ । एमालेले संसद खुलाउन सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने शर्त राखेको तर देउवाले नमानेपछि सहमति जुट्न नसकेको हो ।
ओलीले संसदमा सभामुख हुँदासम्म आफ्नो पार्टीको अवरोध कायमै रहने बताएका थिए । सहभागी एमाले उपमहासचिव विष्णु रिमालका अनुसार एमालेको माग पूरा गर्नेतर्फ सरकार अग्रसर नभएकाले सहमतिको वातावरण नबनेको हो ।
‘प्रधानमन्त्रीज्यूले एमसीसी पारित गर्न सघाउन आग्रह गर्नुभयो, हाम्रो पार्टी अध्यक्षज्यूले पहिला हामीलाई संसदमा प्रवेश गर्ने वातावरण बनाउनुस् भन्नुभयो’, रिमालले भने ।
आफूहरूले कारबाही गरेका सांसद्हरूलाई सभामुखले नहटाएको भन्दै एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आएको छ । संसद् सञ्चालन हुने वातावरण भएमात्रै एमसीसीमा सघाउन सकिने धारणा ओलीले बैठकमा राखेका हुन् ।
विद्युत प्रसारण लाइन निर्माण र सडक सुधार गर्न नेपालले ५० करोड डलर अनुदान प्राप्त गर्ने एमसीसी ८ फागुनमा प्रतिनिधि सभामा टेबल भएको छ । सो प्रस्ताव समयसीमा भित्रै पास गर्ने सरकारको योजना रहेको छ ।
संसदमा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसी पास गराउने दौडधुपमा रहेका प्रधानमन्त्री देउवाले ओलीलाई भेट्न बालुवाटार बोलाएका थिए ।
एमसीसी टेबल भए पनि माओवादी केन्द्र र एकीकृत समाजवादीले पास गराउने पक्षमा मत दिन नसक्ने बताइरहेका बेला संसदको ठूलो दलसँग कांग्रेसले संवाद बढाएपछि माओवादी र एस पार्टी सर्तक बनेका छन् ।
आइतबार संसदमा एमसीसी टेबुल भएकै दिन दुई नेताबीच वार्ता हुने तयारी थियो । तर प्रदर्शनकारीहरूले ओली सवार गाडीमा पनि ढुंगा हानेपछि दुई नेताको भेट रोकिएको स्रोतको दाबी छ । संसदमा एमसीसी पास हुनुअघि गत फागुन ५ मा ओलीसँग वार्ताका लागि देउवा बालकोट पुगेका थिए ।
एस पार्टी संकटमा
एमसीसीको विपक्षमा उभिएको माधव नेपालको एस पार्टी भने संकटमा परेको छ । एमालसँग विभाजन भएको छोटो समयमै सरकारमा गएको तर सरकारबाट तत्कालै बाहिरिनु पर्ने अवस्था आए आर्थिक रुपमा पनि संकटमा पर्नेछ । त्यसैगरी राजनीतिक र सांगठानिकसमेत संकटमा रहेको छ ।
४० जिल्लामा राम्रोसँग जिल्ला कमिटीसमेत नबनेको अवस्थामा आगामी निर्वाचनमा कांग्रेसले साथ नदिने हो भने एस पार्टीको अस्तित्वसमेत नरहने अवस्था आउने भएकाले अध्यक्ष माधवकुमार नेपाल निकै तनाबमा छन् ।
त्यस्तै प्रेम आले र किसान श्रेष्ठले एमसीसी पास गराउनु पर्ने अडान राखेपछि मंगलबार एमसीसीको पक्ष र विपक्षमा उभिन छुट रहेको अभिव्यक्ति सार्वजनिक भएको छ ।
माधव नेपालले प्रचण्ड र उपेन्द्र यादवसँग विपक्षमा उभिने निर्णय गरेलगत्तै एस पार्टीका केही नेताहरुले पक्ष वा विपक्षमा उभिन सांसदहरुलाई छुट दिनुपर्ने अभिव्यक्ति दिन थालेका हुन् ।
एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले एमसीसीको विपक्षमा उभिने निर्णय भए पनि सांसदहरूलाई विपक्षमा मतदान गर्न अहिले नै ह्विप जारी नगर्ने बताएका थिए । ‘हामी अहिले नै ह्विप जारी गर्ने पक्षमा छैनौंं, आवश्यक परे संसद् बैठक बस्नुअघि निर्णय लिन्छौं’, उनले भने ।