arrow

बागलुङका ७० फार्मलाई अनुदान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
veterinary.jpg

बागलुङ । बागलुङमा माछा र मासुको उत्पादन बढाउनका लागि साना व्यावसायिक फार्म प्रवर्द्धनको कार्यक्रम शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले साना व्यवसायलाई प्रवर्द्धन गर्न सुरु गरेको हो ।

जिल्लाभर चालु आर्थिक वर्षमा ७० साना व्यावसायिक फार्मका लागि अनुदान स्वीकृत भएको छ । विज्ञ केन्द्रले व्यवसायीहरूबाट आवेदन माग गरेर प्राथमिकताका आधारमा अनुदान दिन थालेको हो ।

४९ वटा फार्मका लागि अनुदान दिने गरी आवेदन माग भए पनि २६९ फार्मले आवेदन दर्ता गराएका थिए । तीमध्ये ७० फार्मलाई चालु आवमा ५० प्रतिशत अनुदान सहायता दिन थालिएको विज्ञ केन्द्रका पशु स्वास्थ्य अधिकृत केशव पौडेलले बताए । 

स्थानीय कुखुरा २५०, लेयर्स कुखुरा ५०० र ब्रोइलर कुखुरा एक हजार पाल्ने किसान मात्रै यो कार्यक्रममा सहभागी छन् । पन्ध्र माउ बाख्रा, बच्चा उत्पादन गर्ने बङ्गुर भए पाँच र मासुका लागि पालिएका बङ्गुर भए १० पालेका कृषि फार्मले अनुदान सहायता पाउने छन् । छनोटमा परेका फार्मले रु एक लाख ५० हजारका दरले अनुदान सहायता पाउने छन् ।

विज्ञ केन्द्रले बागलुङ नगरपालिका-११ रायडाँडा, निसीखोला गाउँपालिकाको निसीगाउँ र काठे खोलाको लेखानीमा पशुपक्षी पकेट क्षेत्र प्रवर्द्धन कार्यक्रम सञ्चालनमा ल्याउँदै छ । हरेक गाउँका लागि रु आठ लाख अनुदान उपलब्ध गराइने पौडेलले बताए । 

“हामी नियमित तर फरक प्रकृतिका कार्यक्रम लिएर किसानको माझमा पुगेका छौँ”, विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले भने, “किसानका मागअनुसार कार्यक्रम पनि हामीले बनाइरहेकै छौँ ।” जिल्लाको काठेखोला गाउँपालिकाको पालामा भैँसी विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

कृत्रिम गर्भाधानलाई प्रोत्साहन गर्दै नश्ल सुधार गरेर उत्पादन बढाउने कार्यक्रमसमेत कार्यान्वयनमा आएको छ । कृत्रिम गर्भाधानबाट जन्मेका पाडी-बाच्छी एक वर्ष हुर्काउने किसानका लागि मागका आधारमा रु १० हजार प्रोत्साहन रकम दिइने कार्यालयले जनाएको छ ।

वर्षभरि यो कार्यक्रम जारी रहने भएकाले आवेदन लिएर आउन किसानलाई कार्यालयले आग्रह गरेको छ । जिल्लाभर एक हजारभन्दा धेरै साना व्यावसायिक फार्म सञ्चालनमा छन् । स्थापित फार्मको प्रवर्द्धन र नयाँ फार्म स्थापनाका लागि विज्ञ केन्द्रले अनुदानका कार्यक्रम ल्याएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ