काठमाडौं । सत्ताधारी गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे सहमति जुटाउन पाँच दलीय बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई लगायत उपस्थित छन् ।
एमसीसी संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा आजको बैठकले निर्णय गर्ने छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकमा एमसीसी पेस गर्ने कार्यसूची नभए पनि गठबन्धन बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने नेताहरूको भनाइ छ।
प्रधानमन्त्री देउवा आजै एमसीसी संसदमा टेबुल गर्ने मनस्थितिमा छन् । अहिलेसम्म नमानेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि लचिलो बनेको स्रोतको दाबी छ ।