arrow

संसद बस्ने दिन कम्युनिष्ट साना दलहरु सडकमा, एमसीसी रोक्न जोडबल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ८ आइतबार
security-bicc-2022.jpg
तस्बिर– फाइल

काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश हुने सम्भावना छ । यद्यपि संसद् सचिवालयले सम्भावित कार्यसूचीमा यसलाई राखेको छैन । 

बिहान १० बजे सत्तागठबन्धनको छलफलपछि आउने निष्कर्षपछि कार्यव्यवस्था परामर्श समितिको बैठकबाट कार्यक्रम राख्न पनि सकिन्छ । तर टुङ्गो भएको छैन । सत्ता गठबन्धनले निचोड ननिकाले पनि कम्युनिष्ट साना घटकहरु भने एमसीसीको विरोधमा छन् । 

उनीहरु जुन दिन संसद बस्छ त्यो दिन एमसीसीको विरोधमा सडकमा उत्रन्छन् । आज पनि ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्षसहित विरोध गर्दैछन् । 

उनीहरुका अनुसार आज काठमाडौं उपत्यकामा माइतीघर मण्डलाबाट विरोध प्रदर्शनसहित नयाँ बानेश्वरस्थित संसद् भवन घेराउ र देशव्यापी रूपमा सबै जिल्लामा व्यापक विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम तय भएको छ । 

उपत्यकामा तीनकुनेदेखि माइतीघरसम्मको सडक अवरुद्ध हुन सक्नेछ । त्यहाँ ट्राफिक व्यवस्थापन असहज हुन सक्छ । सुरक्षाकर्मीले सुरक्षा सतर्कता बलियो बनाएको छ । 

हिजो नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । अमेरिकी राजदूत र्‍याण्डी वेरीको ट्वीट, चीनको विदेश विभागको पत्रकार सम्मेलनबाट व्यक्त धारणा र शेरबहादुर देउवा नेतृत्वको सरकारको एमसीसी संसदमा टेबल गरी पारित गराउने अन्तिम कसरतले उक्त कुराको पुष्टि गरेको उनीहरुको भनाइ छ । 

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा , सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टी, कर्णजित बुढाथोकी ‘सुशिल’ नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गरी जनताका संघर्षलाई व्यापकता प्रदान गर्नु आफूहरुको कर्तव्य भएको बताएका छन् ।

‘एमसीसी जुनसुकै मूल्यमा खारेज गरी राष्ट्रिय स्वाधिनताको रक्षाको सवालमा आफूलाई आन्दोलित गरिरहेका नेपाली जनताका अगाडि जनसंघर्षको कार्यक्रमलाई उच्चता र व्यापकता प्रदान गर्नु आफ्नो कर्तव्य हुन आएको छ’ ६ दल र २ मोर्चाले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ