arrow

एमसीसी संसदमा पेश गर्ने कांग्रेसको निर्णय, भोलि पेश गर्न प्रधानमन्त्रीको सभामुखलाई फोन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
congress- parliamentarian-meeting.jpg

काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । नयाँ बानेश्वरमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमसीसी संसदबाट पारित गर्ने निष्कर्ष निकालेको हो । 

बैठकमा लामो समयदेखि एमसीसीलाई रोकेर राख्दा सन्देश नराम्रो जाने भन्दै त्यसविरुद्ध फैलाइएको अफवाह चिर्न पनि संसदमा पेश गर्नुपर्ने कांग्रेस संसदीय दलले ठहर गरेको हो । कांग्रेसका अधिकांश सांसद एमसीसीको पक्षमा रहेसँगै बुधबारको संसद बैठकमा पेश हुने भएको छ । कांग्रेस सांसद डा. शशांक कोइरालाले बुधबार बस्ने संसद बैठकमा एमसीसी पेश हुने जनाएका हुन् । 

‘आजको बैठकमा एमसीसीबारे छलफल भयो । अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका छन्’, उनले भने । ‘सम्भवतः भोलि बस्ने संसद बैठकमा एमसीसी पेस हुने सम्भावना बढी छ’, नेता कोइरालाले भने । 
 
यसैबीच प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठकको बीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् । ।

बुधबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक बस्नुअघि कार्यव्यवस्था समितिको बैठक बस्ने तयारी नगरेपछि प्रधानमन्त्री देउवाले सभामुखलाई फोन गरेर बैठक बोलाउन आग्रह गरेका हुन् । 

सरकारले बुधबारकै संसद बैठकमा एमसीसी प्रस्ताव टेबल गर्ने तयारी गरेको छ । कार्यव्यवस्था समितिको बैठक नबसे संसद् सचिवालयले प्रतिनिधिसभाको सम्भावित कार्यसूची तय गर्नेछ । जसमा एमसीसी नपर्न पनि सक्ने भएपछि देउवाले सापकोटालाई फोन गरेका हुन् । 

एमसीसी आफूले अगाडि बढाउनु परे राजीनामा दिने बताउँदै आएका सापकोटाले सोमबारको सर्वदलीय बैठकमा भने दलहरुले चाहेका खण्डमा एमसीसी अगाडि बढ्ने बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ