प्रधानन्यायाधीशविरुद्धको महाभियोगको विपक्षमा कमल थापा
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २ सोमबार
856
Shares
फाइल तस्बिर
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको विपक्षमा उभिएका छन्। सत्ता गठबन्धनका सांसदले जबराविरुद्ध आइतबार महाभियोग प्रस्ताव दर्ता गरेपछि थापाले प्रपञ्चमा महाभियोग ल्याइएको दाबी गरे।
सोमबार बिहान सामाजिक सञ्जालमा टिप्पणी लेख्दै थापाले महाभियोग प्रपञ्च हुनुका तीन कारण औँल्याएका छन्।
उनले पहिलो कारण त एमसीसीमा सत्तासीन नेपाली काँग्रेसको स्वार्थ रहेको बताएका छन्। एमसीसी पारित गर्न सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीले अस्वीकार थिए। प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी मा माओवादी र समाजवादीको मौन समर्थन रहने सर्तमा महाभियोग प्रस्तावमा राजी भएका हुन्। अर्थात् एमसीसी संसद्मा टेबल गर्न माओवादी र एकीकृत समाजवादी राजी भएको तर मतदानमा भाग लिने छैन, मतदानका बखत ती दलका सांसद अनुपस्थित हुनेछन्।
त्यस्तै, थापाले दोस्रो कारणमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध विचाराधीन मुद्दा रहेको बताएका छन्। द्वन्द्वकलामा २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्याको आरोपमा सापकोटालगायत केही विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । यो मुद्दालाई थापाले माओवादी स्वार्थ भनेका छन्।
त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका १४ सांसदमाथि कारबाही गरेको बताएका थिए। तर, यो विषयमा सभामुखले निकास नदिएपछि सर्वोच्चमा मुद्दा परेको छ। यो विषयमा एकीकृत समाजवादीको स्वार्थ रहेको उनले बताएका छन्।
थापाले लेखेका छन्- 'प्रन्यालाई हटाउनु पर्ने बेला चुपचाप बस्ने,अहिले एमसीसी पास गर्ने (कङ्ग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने(माओवादी स्वार्थ) र नेकपा(एस)को सांसद पद जोगाउने प्रपञ्चमा प्रन्या राणा विरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैर जिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको विकृतिको नमुना हो।'