पोखरा ।कास्कीमा फागुन १ गतेदेखि दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ वृद्धि हुने भएको छ । राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादन कृषक समाज नेपाल कास्कीले दूधको मूल्य बढाउने घोषणा गरेका हुन् ।
सरकारले तोकेको दूधको मूल्य अव्यवहारिक भएकाले आफूहरुले नमान्ने भन्दै समाजले आफैले दूधको मूल्य तोकेको हो । केही दिन अघिमात्र सरकारले दूध तथा दुग्धजन्य पदार्थको मूल्य ६.५२ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको थियो । समाजले सरकारले तोकेको दूधको मूल्यले किसानको माग संबोधन नगर्ने उल्लेख गरेका छन् ।
दूध तथा दुग्धजन्य पदार्थको मूल्य वृद्धि सम्बन्धी निर्णय गर्न बनेको कार्यदलले सिफारिस गरेअनुसार नै दूध तथा दुग्धजन्य पदार्थको मूल्य वृद्धि गर्नुपर्ने समाजको माग छ ।
समाजका अध्यक्ष दीपक तिमिल्सिनाका अनुसार दूध, दही, पनिर, घ्यू र नौनी घ्यूको मूल्यमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिनेछ । कास्कीमा यसअघि १२० रुपैयाँ पर्ने भैंसीको दूधको मूल्य १३०, ९० रुपैयाँ पर्ने गाईको दूधको मूल्य प्रतिलिटर १००, १३० पर्ने दहीको मूल्य प्रतिलिटर १४०, ७५० पर्ने पनिरको मूल्य प्रति केजी ८००, ११ सय पर्ने घ्यूको मूल्य प्रतिकेजी १२ सय र ९०० पर्ने नौनी घ्यूको मूल्य प्रतिकेजी एक हजार कायम गरिएको छ ।
कास्कीमा दैनिक ५० हजार लिटर दूध खपत हुने गरेको छ । जसमा व्यवसायिक पशुपालन किसानले २३ हजार लिटर, राज्यबाट सुचिकृत नभएका तथा सहकारीबाट १५ हजार लिटर र अन्य क्षेत्रबाट करीब १२ हजार लिटर आयात हुने गरेको छ ।