२३ वर्षपछि पाकिस्तानी प्रधानमन्त्री रुसको भ्रमणमा जाने
एएनआई,
प्रकाशित २०७८ माघ २४ सोमबार
432
Shares
इस्लामाबाद [पाकिस्तान] । २३ वर्षपछि पाकिस्तानी प्रधानमन्त्री रुसको भ्रमणमा जाने सम्भावना बढेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा पाकिस्तानी प्रधानमन्त्री इमरान खान रुसको भ्रमणमा जाने भएका छन् ।
मार्च १९९९ मा, तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले रुसको भ्रमण गरेका थिए । यो भ्रमण भयो भने २३ वर्षपछि पाकिस्तानी प्रधानमन्त्रीको रुसको भ्रमण हुने स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा रुसको यो भ्रमण हुन लागेको एआरवाई न्युजले जनाएको छ । यस भ्रमणका क्रममा इमरान खानसँग उनको मन्त्रिपरिषद्का मन्त्रीहरूको उच्चस्तरीय प्रतिनिधिमण्डल पनि संलग्न हुनेछ ।
गत महिना मस्को र इस्लामाबादले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको यस वर्षको भ्रमणको योजनालाई अन्तिम रूप दिन वार्ता गरिरहेको रिपोर्ट आएपछि यो कुरा बाहिर आएको हो।
इमरान खानले पुटिनलाई औपचारिक निमन्त्रणा गरिसकेको एक्सप्रेस ट्रिब्युन अखबारले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
पाकिस्तानी अखबारले पुटिनको भ्रमण विगत दुई वर्षदेखि छलफलमा रहेको तर कोभिड–१९ महामारीलगायत विभिन्न कारणले कार्यान्वयन हुन नसकेको बताएको छ ।