फोनपे र खल्तीबीच सहकार्य, डिजिटल भुक्तानीका लागि ठुलो उपलब्धि हुने
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
521
Shares
काठमाडौँ। नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड र पछिल्ला दिनमा डिजिटल कारोबारलाई तीव्रता दिइरहेको भुक्तानी सेवा प्रदायक खल्तीबीच सहकार्यको सहमति भएको छ। सोमबार एक कार्यक्रमका बीच फोनपेकातर्फबाट नायव प्रमुख कार्यकारी दिवस सापकोटा र खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरे। सम्झौतासँगै अब खल्ती फोनपे नेटवर्कमा आबद्ध भएको छ। अबदेखि खल्ती प्रयोगकर्ताले फोनपेको क्युआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन्। यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठुलो उपलब्धि हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।
सम्झौता कार्यक्रममा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, “पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारलाई तीव्रता दिइरहेको खल्तीसँग सहकार्य गर्न पाउँदा हामी खुसी छौँ। हामी दुवै कम्पनीको लडाइँ भनेको नगद कारोबारसँग हो। क्यासलेस अर्थतन्त्र निर्माण गर्ने हाम्रो समान उद्देश्यमा हाम्रो सहकार्यले थप मद्दत पुग्नेछ।
यस्तै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “यस सहकार्यबाट खल्ती फोनपेको मात्र नभई २० लाख भन्दा बढी खल्तीका प्रत्यक्ष प्रयोगकर्ता र लाखौँ अप्रत्यक्ष जनता लाभान्वित हुनेछन्। यो सहकार्यले इकोसिस्टमलाई अझ विश्वसनीय र सशक्त बनाई अघि बढाउन मद्दत गर्नेछ भन्ने कुरामा विश्वस्त छौँ। हामी दुवैको ठुलो उद्देश्य एउटै छ जुन हो नेपाललाई डिजिटल बनाउने जसको लागि हामी सँगै अघि बढ्दैछौं।”
डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख ५० हजार भन्दा बढी मर्चेन्ट रहेका छन्। बैङ्क तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैङ्किङ प्रयोगकर्ताले फोनपेमार्फत कारोबार गर्दै आएका छन्। दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैङ्क तथा वित्तीय संस्था आबद्ध छन्। फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’ पीसी आइडि एसएस भि थ्रि.टु.वानबाट प्रमाणीकरण प्राप्त संस्था हो।
सन् २०१७ मा आफ्नो सेवा सुरु गरेको खल्ती’,नेपाली फिनटेक उद्योगमा एक फरक एवं नवीन पहिचान बनाउन सफल ब्रान्ड हो। २० लाख भन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरूको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजार बाढी सेवाहरूको डिजिटल भुक्तानी तथा रकम आदान प्रदानको सेवा दिँदै आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्ताहरूलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।