arrow

नेपालमा चिनियाँहरूको संदिग्धसँगै आपराधिक जालो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १६ आइतबार
chinese-juwade.jpg

काठमाडौं । गत असार २३ गते राति नेपाल प्रहरीले ठमेलस्थित एक होटलबाट जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गर्यो । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले चिनियाँ नागरिक हे सिआओलङले सञ्चालन गरेको होटल सिआओ सियाङ होटलबाट चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । 

यो त भयो असारको घटना । त्यसयता छ महिनाको अवधिमा बागमतीबाट थुप्रै पानी बगिसकेको छ । धेरै नै उथलपुथल भइसकेको हुनुपर्छ । किनकि नेपालमा चिनियाँ नागरिकहरुको उपस्थिति बाक्लिएको छ । सुरक्षा स्रोतका अनुसार उनीहरूको नेपालमा गैरकानूनी काम र आपराधिक गतिविधि बढ्दै आइरहेको छ । 

नेपालमा गैरकानूनी रूपमा बसेर नेपालले बर्जित गरेका आपराधिक क्रियाकलापमा धेरै चिनियाँ नागरिक संलग्न रहेको स्रोतले बतायो । रकम चोरी, ह्याकिङ, मानव बेचबिखन, जबरजस्ती करणी, अवैध सुनको तस्करी तथा लागु औषधको कारोबारमा चिनियाँ नागरिकको प्रत्यक्ष संलग्नता रहँदै आइरहेका तथ्यहरू पहिलेदेखि नै बाहिरिँदै आएका छन् । 

प्रहरी प्रवक्ता विष्णुकुमार केसीले भने अहिले त्यस्ता कुनै किसिमका प्रकृतिका घटना नभएको र चिनियाँ पनि पक्राउ नपरेको बताएका छन् । 

पर्यटक भिसा लिएर नेपाल भित्रने र लामो समय नेपालमा बसेर आपराधिक क्रियाकलाप गर्नमा चिनियाँ नागरिक अग्रपंक्तिमा रहेका छन् । गत सालहरूमा काठमाडौंका केही बैंकका एटीएम बुथबाट अस्वभाविक रूपमा चिनियाँ नागरिकहरूले करोडौँ रुपैयाँ चोरी गरे । संगठित रूपमा नेपाल पसेर नेपालको अर्थतन्त्रलाई नै धक्का दिने उद्देश्यले पाँच जना चिनियाँ नागरिकले एटीएम नै ह्याक गरी रकम चोरी गरेका थिए । 

आजसम्मको प्रहरी अनुसन्धानबाट नेपालका बैंकहरूको एटीएम ह्याक गरी पैसा चोरी गर्ने व्यक्ति तथा समूह भनेको चिनियाँ नै हो । यस्तो आपराधिक कार्यमा उनीहरूले नेपालीलाई पनि अप्रत्यक्ष रूपमा संलग्न गराउँदै आइरहेका छन् ।

चिनियाँ नागरिकको संलग्नता नेपालमा आपराधिक क्रियाकलाप भएको यो घटना धेरै चर्चा पाएको उदाहरण हो । यसअघि पनि चिनियाँ नागरिक पटक पटक पक्राउ गर्ने गरेका थिए । सो एटीएमबाट पैसा ह्याक गरी चोरी गर्ने गिरोहमा चिनियाँ नागरिक लिन जेनमेङ्ग, लिओ जाइलेइ, सु लायङगाङ, क्यु युनक्विन र चेन विन संलग्न रहेका थिए । अवैध सुनकाण्डमा पनि चिनियाँ नागरिककै संलग्नता रहँदै आइरहेको छ । 

हङकङबाट हुने सुन तस्करीमा पनि उनीहरूको संलग्नता रहँदै आएको छ। चिनियाँ नागरिक लि निङ हङकङबाट अवैध रूपमा नेपाल ल्याइएको ४ केजी सुनसहित पक्राउ परे । उनी नेपालमा बसेर अवैध सुन तस्करीमा संलग्न रहेका थिए ।

यतिमात्र होइन उनीहरू नेपालमा अवैध रूपमा बसेर सभा, जुलुस, धर्ना जस्ता अवाञ्छित गतिविधिमा पनि सक्रिय रहँदै आइरहेका छन् । उनीहरू नेपालमा बसेर अस्थिरता पैदा गर्ने काममा सक्रिय रहँदै आइरहेका छन् । नेपालको कानून र नियमलाई अनिवार्य रूपमा पालना गर्न निर्देशन दिँदा पनि चाइनिज नागरिकहरू त्यस्तो धज्जी उडाउँदै आपराधिक क्रियाकलाप गर्दै आइरहेका छन् ।

नेपाल सरकारले हालसम्म १२२ जना चिनियाँ संदिग्ध अपराधीहरूलाई पक्राउ गरिसकेको छ । तर पनि उनीहरूको अपराधको श्रृंखला अझै रोकिएको छैन । अवैध अमेरिकन डलरको तस्करी गरी कारोबार गर्न पछिल्लो समय उनीहरूले नेपालको भूमिलाई प्रयोग गर्दै आइरहेका छन् । लामो समयदेखि काठमाडौंको ठमेलमा बसेर होटेल काठमाडौं वान सञ्चालन गर्दै आइरहेका चिनियाँ नागरिक चेन क्याङ सोही होटेलमा प्रतिबन्धित समुन्द्री घोडा (सी हर्स फिस) करिब ७ किलोग्राम अनेक जडीबुटी, तीन सय ग्राम सुनखरी र यार्सागुम्बासहित पक्राउ परे । उनी विगत लामो समयदेखि अवैध कारोबार गर्दै आइरहेका थिए ।

२०५७ सालदेखि नेपाल चिनियाँहरू विभिन्न तस्करी र अवैध कारोबारमा संलग्न रहेको नेपाल प्रहरीसँग प्रमाण रहेको छ । २०७२ को भूकम्पपछि त झन् चिनियाँ नागरिकको गतिविधि ह्वातै बढेर गएको छ । २०६७ सालयता तातोपानी नाका चिनियाँ तस्करहरूको लागि अवैध सामान तस्करी गर्ने मुख्य नाका नै भएको छ । 

त्यसयता दिनहुँ तस्करी बढ्ने क्रम जारी छ । यसमा चाइनिज नागरिक नै बढी संलग्न रहेको नेपाल प्रहरीको रेकर्डमा छ । उनीहरूले वन्यजन्तुका अङ्ग, लागु औषध, डलर, अवैध सुन, रक्त चन्दन, साइबर कानून उल्लंघन गर्ने, विद्युतीय नेटवर्क प्रणाली तोड्ने, अनलाइन जुवा खेलाउने, मुद्रा निर्मलीकरण, वेश्यावृत्ति गराउने, चेलीबेटी बेचबिखन जस्ता क्रियाकलापमा संलग्नता राख्दै आइरहेका छन् ।

६ महिनाको भिजिट भिसा लिएर नेपाल  भित्रने र लामो समय गैरकानूनी रूपमा बसोबास गरी अपराध गरेर चीन फर्कने गरेका उनीहरूले अनलाइन ठगीबाट नेपाली युवाको करोडौँ रुपैयाँसमेत ठगी गरिसकेका छन् ।

नेपालका ठूला शहरहरू काठमाडौं, पोखरा, बुटवल लगायतका शहरहरूमा कोठा भाडामा लिएर अवैध असुली र जुवा खेलाउनेजस्ता गैरकानूनी क्रियाकलाप गर्दै आइरहेका उनीहरूको सन्दिग्ध गतिविधि अझ बढेर गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ