दार्चुलामा माघ १२ देखि १४ गतेसम्म बुस्टर डोज लगाइने
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ९ आइतबार
755
Shares
दार्चुला । दार्चुलामा यही माघ १२ गतेदेखि बुस्टर डोज दिइने भएको छ । यसअघि कोरोना भाइरसविरुद्धको दुबै मात्रा खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो । पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका नागरिकहरूलाई बुस्टर डोज लगाइने छ ।
आइतबार कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बसेको बैठकले १२ गतेदेखि १४ गतेसम्म (तीन दिन) बुस्टर डोज लगाउने निर्णय गरेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए । जिल्लालाई बुस्टर खोपका लागि १० हजार २ सय डोज प्राप्त भएको उनले बताए । जसमा कोभिशिल्ड र भेरोसेल खोप रहेको छ ।
बुस्टर डोज स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, जनप्रतिनिधि, एम्बुलेन्स तथा शव बाहान चालक र सार्वजनिक सेवाका कर्मचारी लगायत अग्रपङ्क्तिमा खटिनेहरूलाई दिइनेछ ।
यस्तै जिल्लाको व्यास गाउँपालिका वडा नम्बर १ छाङ्गरु र तिंकरका बासिन्दालाई पनि भेरोसेलको बुस्टर डोज दिइने जनाइएको छ । जिल्लाका ९ वटै स्थानीय तहका स्वास्थ्य चौकी तथा अस्पतालहरूमा खोप केन्द्र तोकिएको छ ।