संचार श्रमिकका मुद्धालाई मिलेर समेट्नु पर्नेमा जोड
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ३ सोमबार
1k
Shares
काठमाडौं । संचार क्षेत्रका श्रमिकहरुका मुद्धालाई एकिकृत रुपमा उठान गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सञ्चार श्रमिकहरुका मुद्धा उठानका लागि दर्जनौं संघ संगठनहरु भए पनि एकीकृत रुपमा हुन नसकेको ठहर गर्दै उनीहरुले एकीकृत रुपमा उठान गर्नका लागि संयुक्त संयन्त्रको आवश्यकता औंल्याएका थिए ।
पत्रकारका विभिन्न संघ संगठनका प्रतिनिधिहरुसँग छलफल गर्न युनिमी नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले सबै संघ संगठनहरुले आ– आफ्नो तरिकाले पत्रकार तथा सञ्चार श्रमिकहरुका अधिकारका लागि संघर्ष गरे पनि सन्तोषजनक उपलब्धी हुन नसकेको उल्लेख गरेका थिए ।
श्रमिकहरुको अन्तर्राष्ट्रिय संगठन यूएनआईको एसिया प्यासेफिक महासचिव राजेन्द्रकुमार आचार्यको आतिथ्यतामा भएको छलफलमा युनिमी नेपालका अध्यक्ष गोविन्द धितालले यूएनआई र युनिमीको परिचय गराउँदै ती संगठनहरुले नेपालमा गरिरहेका गतिविधिका बारेमा जानकारी गराएका थिए ।
महासचिव आचार्यले अन्तर्राष्ट्रियस्तरमा ट्रेड युनियनको क्षेत्रमा भइरहेको विकास र अभ्यासका बारेमा चर्चा गरेका थिए । उनले अन्य देशको तुलनामा नेपालमा श्रमिकहरु पर्याप्त मात्रामा संगठिन हुन नसकेको र अधिकारकै बारेमा पर्याप्त जानकारी नभएकाले माग्न नसकेको बताए ।
यूएनआई नेपालका अध्यक्ष शंकर लामिछाने अरु बेला जुन जुन पार्टीको झण्डा बोके पनि श्रमिकको मुद्धामा एकै ठाउँमा हुने वातावरण बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालका ठूला संचारगृहमा भएका समस्या समाधानमा युनिमीले अग्रणी भूमिका खेलेको चर्चा गर्दै सबै संगठनहरुलाई अझ घच्घच्याउन आवश्यक रहेको धारणा राखे ।
उनले सञ्चार श्रमिक तथा पत्रकारका अधिकारका लागि काउन्सिलले खेल्न सक्ने भूमिकाप्रति आफू सधैँ तयार रहेको उल्लेख गरे । समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष शम्भु श्रेष्ठले राजनीतिक दल निकट पत्रकारका संगठनहरुसँग युनिमीको सम्बन्ध कस्तो हुन्छ ? भन्ने प्रश्न गरे । उनले श्रमिकहरुले अधिकार माग्ने नाममा अराजकता बढ्दै गएकाले श्रमिकहरुको आचारसंहिता पालना हुनुपर्नेमा जोड दिए ।
प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपालले श्रमजीविले आफ्नै अधिकारका लागि पनि लड्न अग्रसर हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।
मिडिया एड्भोकेसी ग्रुपकी संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार बबिता बस्नेतले काम गर्ने शिलशिलामा महिलामाथि मात्र नभइ पुरुषमाथि पनि हिंसा हुने गरेकाले सबैका हिंसाका विषयमा आवाज उठाइरहनु पर्नेमा जोड दिइन् ।
श्रमजीवि पत्रकार संघका अध्यक्ष जन्मदेव जैशीले संगठनमा लागेका पत्रकार तथा श्रमिकहरु नै आफ्नो कार्यालयमा सुरक्षित नभएकाले एकले अर्काका लागि संघर्ष गरिदिनुपर्ने बताए ।
काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा ट्रेड यूनियनका जानकार डा. काशिराज पाण्डेले विश्वविद्यालयले श्रमिकहरुको अधिकारको विषयलाई पाठ्यक्रममा नै समावेश गर्नुपर्ने खाँचो औल्याए ।
कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष गजुरधन राई, मधेशी पत्रकार समाजका अध्यक्ष मोहनकुमार सिंह, सञ्चारिका समूहकी महासचिव बिमला तुम्खेवा, डब्लूडब्लूजेकी कार्यबाहक अध्यक्ष संगीता लामा लगायतले पनि सञ्चार श्रमिकहरुका अधिकारलाई स्थापित गराउने उपायका बारेमा धारणा राखेका थिए ।
सञ्चार श्रमिकहरुको संगठन युनिमी विश्वका ७० मुलुकमा विस्तार भएको युनिमी नेपालका महासचिव जीवन भण्डारीले बताए ।