तिलोत्तमामा देशकै नमूना रेल परियोजना, डीपीआर अन्तिम चरणमा
कार्यकारी प्रमुख भन्छन् – पहिलो चरणमा १५ किलोमिटर सञ्चालनमा ल्याउँछौं
नारायण वली,
प्रकाशित २०७८ पुष ३० शुक्रबार
1.5k
Shares
रुपन्देही। तिलोत्तमा नगरपालिकामा रिङरोड निर्माण गरी नगरभित्र पर्यटन विकासका लागि निजी साझेदारीमा रेल सञ्चालन गर्ने परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अन्तिम चरणमा पुगेको छ । नगरपालिकाका विभिन्न स्थानलाई जोड्ने गरी करिब ५० किलोमिटर रिङरोडमा रेल सञ्चालन गर्ने गरी तिलोत्तमा नगरपालिकामा तिलोत्तमा पब्लिक रेल्वे कम्पनी स्थापना गरिएको छ ।
२०७७ पुस ६ गते तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले योगिकुटीमा औपचारिक रुपमा परियोजनाको उद्घाटन गरेका थिए । नगरपालिकाले ०७६ साल असोजमा गरेको लगानी सम्मेलनमा तिलोत्तमा रेल्वे कम्पनीले रेल सञ्चालनका लागि नगरपालिकासँग सम्झौता गरेको थियो ।
त्यसपछि नगरपालिकाबाट विस्तृत सर्वेक्षण गर्नका लागि स्वीकृत पाएको रेल्वे कम्पनीले कामलाई अघि बढाएको थियो । तर महामारीका रुपमा फैलिएको कोराना भाइरसका कारण गरिएको लकडाउनले रेल सञ्चालनको योजनामा रोकिन पुगेको थियो । परियोजना शुरु गरिएको अवधि २ वर्ष पुगिसकेको छ ।
रेल सञ्चालनका लागि तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडले आगामी फागुनदेखि काम शुरु गर्ने गरी डीपीआरको काम अन्तिम चरणमा पुगेको बताएको छ । परियोजनामा लगानी गर्ने स्थानीय नागरिकहरुको उत्साह बढेको तिलोत्तमा पब्लिक रेल्वे कम्पनीका कार्यकारी प्रमुख भोलानाथ शर्माले बताएका छन् ।
डेढ करोड लागतमा डीपीआर निर्माणको काम भइरहेको र रेल परियोजनाको काम सो क्षेत्रको लागि नयाँ भएकाले रेल सञ्चालन गर्न लगानीकर्ताहरुले चासो जगाएको कार्यकारी प्रमुख शर्माको भनाइ छ ।
करिब ५ अर्ब २ करोड लागतमा तिलोत्तमाका विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्र र प्रत्येक वडाहरुलाई समेट्ने गरी ४८.५ किलोमिटर लामो रेल्वे परियोजना अघि सारिएको छ । गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल भैरहवा, प्रसिद्ध धार्मिक स्थल लुम्बिनी र बुटवल क्षेत्रमा भएका पर्यटकीय स्थानहरुलाई समेट्ने गरी रेल सञ्चालन गर्न लागिएको दीर्घकालीन योजनामा लगानीकर्ताहरुले लगानी गर्नमा उत्साही भएको जनाए । जसले गर्दा कम्पनीलाई रेल सञ्चालन गर्न सहज भएको प्रमुख शर्माले बताए ।
कार्यकारी प्रमुखका अनुसार अहिले ५ सय ३४ जना सेयर सदस्य पुगिसकेका छन् । कम्पनीले लगानी थप गर्नका लागि कम्तिमा १ लाख रुपैयाँका दरले नयाँ सेयर लगानी गर्न आह्वान गरेको भए पनि लगानी गर्नेहरु लक्ष्य अनुसार नआएको शर्माले बताए ।
उनका अनुसार पहिलो चरणमा सर्वे ढिलो भएको, ६ किलोमिटरमा ढिला र पोल हटाउनका लागि १ करोड १२ लाख रुपैयाँ लाग्ने विद्युत प्राधिकरणले सर्वेपछि अनुमानित योजना बनाएको जनाइएको छ । सो रकम नगरपालिकाले दिने उल्लेख छ ।
लुम्बिनी प्रदशका मुख्यमन्त्री कुलप्रसाद केसी र प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले स्थानीय तह, प्रदेश सरकार, केन्द्र सरकार र स्थानीय जनताको सेयरमा देशकै नमूना रेल परियोजना सफल बनाउन लाग्नुपर्ने बताएको र पहिलो चरणमा रोहिणी खोलासम्म १५ किलोमिटरमा रेल सञ्चालन गर्ने योजनाका साथ अगाडि बढिएको कार्यकारी प्रमुख शर्माको भनाइ छ ।
नगरपालिकाले आवश्यक सहयोग र सहजीकरणका लागि तयार रहेको उल्लेख गर्दै उनले सोही अनुसार रिङरोड निर्माण गर्ने क्रममासमेत रेल परियोजनाका लागि जग्गा व्यवस्था गरिएको बताए ।
नगरमा बन्ने नयाँ भौतिक परिजना निर्माण गर्ने विषयमा समेत भविष्यमा रेल्वे सञ्चालन गर्दा कुनै असर नपर्ने गरी शहरको डिजाइन तथा नक्सा पासका कामहरु भइरहेको पनि जानकारी दिए ।
डीपीआर निर्माणको जिम्मा पाएको मुन स्टार इन्जिनियरिङ्ग प्रालिले ८५ प्रतिशत बढी काम भइसकेको जनाएको छ । यो भ्याट सहितको रकम हो । १ करोड ४९ लाख ७० हजार २ सय ४० रुपैयाँ लागतमा डीपीआर निर्माण हुन थालेको प्रालिका टेक्निकल विभाग प्रमुख विशाल केसीले बताएका छन् ।
प्रतिघण्टा २५ देखि ४० किलोमिटरको गतिमा गुड्ने रेल धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको अवलोकन गर्दै यात्रा गर्न मिल्ने खालको बनाइने भएको छ ।
विद्युतबाट चल्ने उक्त रेल सञ्चालनका लागि डीपीआर अनुसार ट्रयाकका लागि मात्रै १ अर्ब ६१ करोड, १२ वटा स्टेशन निर्माणका लागि ४८ करोड तथा निर्माण कार्य सञ्चालन गर्न करिब १ अर्ब ६४ करोड लागत अनुमान गरिएको तिलोत्तमा पब्लिक रेल्वे कम्पनीले जनाएको छ ।
यसैगरी उक्त क्षेत्रमा अन्य संरचनाहरु निर्माणका लागि १ अर्ब ६४ करोड लागत अनुमानित गरिएको छ ।