काठमाडौं । एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी र सचिव योगेश भट्टराईलाई जिल्ला अधिवेशनमा धक्का लागेको छ । जिल्ला अधिवेशनमा आफू अनुकूलको नेतृत्व चयन गर्न नसक्दा उनीहरुलाई धक्का लागेको हो । नेकपा एमाले कास्की अध्यक्षमा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ निकट रहेका मनबहादुर गुरूङ निर्वाचित भएका छन् । जिल्ला नेतृत्व चुन्न मंगलबार भएको निर्वाचनमा गुरूङले ४५६ मत पाएर निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी दामोदर पौडेल ‘बैरागी’ ले ४०७ मत पाएका थिए ।
संगठन विचार विभाग प्रमुख सुब्बा र संगठन विभाग प्रमुख अधिकारीबीच नै निर्वाचन भएझैं कास्कीमा एमालेका नेताहरु दुई भागमा विभाजित भएका थिए । कास्कीको निर्वाचन अवधिभर पोखरा बसेका सुब्बा मंगलबार दिउँसो मात्रै काठमाडौं आएका थिए । उनी काठमाडौं आएपछि मतगणना शुरु भएको थियो । अधिकारी पनि हिजै काठमाडौं आउने भनिए पनि पोखरामै रहेका छन् ।
अध्यक्षमा निर्वाचित गुरुङ यसअघि एमाले कास्कीका उपाध्यक्ष थिए । जिल्ला अध्यक्ष कृष्ण थापा गएको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेपछि गुरुङ कार्यबाहक जिल्ला अध्यक्ष बनेका थिए । उनी गण्डकी प्रदेश सांसदसमेत हुन् । अध्यक्षमा पराजित बैरागी अधिकारी निकट हुन् । उनी यसअघि जिल्ला कमिटी सचिव थिए ।
सर्वसम्मत नेतृत्व चुन्न ४ दिनसम्म प्रयास गर्दा विफल भएपछि निर्वाचन भएको थियो । निर्वाचनमा एमाले उपमहासचिव सुब्बा र संगठन विभाग प्रमुख अधिकारीको समूह प्यानलसहित चुनाव लडेका थिए । बुधबार बिहान सार्वजनिक नतिजा अनुसार उपाध्यक्षमा गुरूङ प्यानलका तेजनारायण अधिकारी, सचिवमा बैरागी प्यानलका बैनबहादुर अधिकारी र उपसचिवमा दर्शन लामा र नवराज ओझा निर्वाचित भएका थिए । सहसचिवद्वय पनि खगराज प्यानलका हुन् । खगराज आफैंले प्यानल बनाउन निर्देशन दिएका थिए ।
एमालेले पार्टी नेतृत्व चुन्दा प्यानल बनाएर चुनाव लड्न निषेध गरेको थियो । कास्कीमा विधान विपरीत पदाधिकारी र सबै क्लस्टरका सदस्यसम्म प्यानल बनेको थियो । त्यसैगरी युवा नेता एवं सचिव भट्टराईको जिल्लामा पनि प्यानलगत निर्वाचन भएको थियो ।
सर्वसम्मतिको प्रयास गरेका भट्टराईले सर्वसम्मत हुने अवस्था नभएपछि उनी निर्वाचनका लागि उम्मेदवारी दर्ता भएपछि जिल्लाबाट हिँडेका थिए । भट्टराई सोमबार धरान गएका थिए । उनी मंगलबार काठमाडौंं आएपछि सन्चो नभएको भन्दै आराम गरेर बसेका छन् ।
ताप्लेजुङमा केपी शर्मा ओली समूहकै भुपेन्द्र थेबे निर्वाचित भएका छन् । भट्टराई निकट रहेका बलबहादुर साम्सोहाङलाई ५६ मतले पछि पार्दै थेबे निर्वाचित भएका हुन् । थेबेले ३ सय २९ र साम्सोहाङले २ सय ७३ मत प्राप्त गरेका थिए । उनी भीम आचार्य नेतृत्वको प्रदेश सरकारमा सामाजिक विकास मन्त्रीसमेत भएका थिए ।
भट्टराईले दुवै नेताहरुलाई मिल्न आग्रह गरेको भए पनि उनीहरु मिल्न नमानेपछि उम्मेदवार हुन खुला छाडेर आफू काठमाडौं आएका थिए । भट्टराई निकट रहेका एक नेता मात्रै जिल्ला अध्यक्ष भएका छन् । भोजपुरका शरण राई भट्टराई निकट भए पनि शेरधन राईले समेत सहयोग गरेपछि उनी निर्वाचित भएका हुन् ।