arrow

पृथ्वीनारायण शाह र सीमाना खोज्दै 

logo
लक्ष्मीविलास कोइराला, 
प्रकाशित २०७८ पुष २७ मंगलबार
article-laxmibilash-koirala-123133.jpg

आज पुस २७ गते पृथ्वी जयन्ती, नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन । ती महान् व्यक्ति पृथ्वीको बलिदानले नेपालको एकीकरण सम्पन्न भई नेपाल राष्ट्र बन्यो । आज हामीले नेपाली भइ बाँच्ने अवसर पाएका छौं । पृथ्वी, उनको वीर गाथा र अद्धितीय योगदानलाई कोटीकोटी नमस्कार छ । 

प्राचीनकालको हिमवत्खण्ड नेपाल भगवान पशुपतिनाथद्धारा संरक्षित र ने मुनिद्वारा पालित भूखण्डलाई भूगोल र इतिहासले नेपाल भनेर चिन्यो । प्राचीन ग्रन्थ, ताम्रपत्र र शिलालेखहरुले नेपालको इतिहास र नेपाल नामलाई चीरकालसम्म संरक्षण गर्दै रहे । तीनताका पनि हाम्रो आफ्नै माटो थियो । गण्डकी, कर्णाली, कोशी, मेची, महाकाली नदी र अनेकौं झरना, खोलानाला ताल तलैयाहरु थिए । हावापानी थियो । वनजङ्गल थियो । आकाश थियो । पुर्खाहरू थिए । संस्कृति थियो । उत्तरी अक्षांश र पूर्वी देशान्तरको बीचमा अवस्थित नेपाल, हिमाल, पहाड र समथर तराईको भू–सतह जोडेर बनेको कारण यसको प्राकृतिक सुन्दरता र मनोरम जलवायु प्राचीनकालदेखि नै प्रसिद्ध थियो, आकर्षक थियो । 

मनमोहक हावापानी सबै मानवका लागि प्रिय हुनु स्वभाविक थियो । मदभरा सुन्दरता र जलवायुले देव, ऋषि, बुद्ध र यात्रीहरूको चित्तहरण गरिरह्यो । विपश्वी, शिखी, विश्वभू, मञ्जुश्री, क्रकुच्छन्द र गौतम बुद्धहरूले नेपालको उत्थान गर्दै रहे । विश्व भ्रमण गर्ने चिनियाँ यात्री वाङ हुयन चे र भारतीय सम्राट अशोक घुम्दै नेपाल आए । नेपाली छोरीहरु सीता र भृकुटीले दक्षिणमा श्रीलंका र भारत तथा उत्तरमा चीन तिब्वतमा नेपाल र नेपाली कला संस्कृतिको यश फैलाए । धेरै यात्रुहरू आए गए, नेपाल र नेपाली कला संस्कृति र सुन्दरताको महक संसारभर फैलियो ।

अग्ला हिमाल, थुम्काथुम्की, भावर र समथर भूमि मिलेर बनेको उन्नत नेपालमा सामन्तहरू जोश, मुडेबल र आँटमा शासक बन्थे, शासन गर्दथे । हिमवत्खण्ड नेपालको परिभाषित सीमाना थिएन । अक्षांश र देशान्तरको बार थिएन । राज्यहरू निर्माण र विघटन भैरहन्थे । सीमाना बिस्तार र सङ्कुचन भैरहन्थ्यो । पशुपतिनाथको वास, आस्था र आशीर्वादले नेपाली भूगोल बदलिएन । सधै स्थिर रहिरह्यो । 

समयको अन्तरालसँगै नेपालमा विदेह, गोपाल, किराँत, लिम्बु, खस, मल्ल, गुप्त, सेन, थारु, शाहजस्ता वंशले राज्य गरे । लिच्छवी राजा वृषभदेवकी कन्या कुमारीदेवीको विवाह भारतका सम्राट चन्द्रगुप्त मौर्यसँग भयो । राजा अरमुडी र काश्मीरका राजा जयपीडबीच ऐतिहासिक युद्ध भयो ।

भारतको दिल्लीका सुल्तान गयासुद्दीन तुगलक, वंगालका सुल्तान शमशुद्दीन र मुगल सम्राट औरङ्गजेबले नेपाली सभ्यतामाथि गरेको आक्रमण पनि नेपालले बेहोर्यो । शासन गर्ने निहुँमा राजाहरुले राज्यलाई आफ्नै निजी पूँजी र सम्पत्ति सम्झेर छोराछोरीलाई अंशवण्डा र बाँडफाँड पनि गर्दै रहे । तर नेपाली राष्ट्रियताको खिरिलो भावनाले हिमवत्खण्ड अनवरत अटल भइ खडा रह्यो, नेपाल बोकेर बाँचिरह्यो ।

भगवान गौतम बुद्धको जन्मभूमि, पशुपतिनाथको बास र उँचो हिमाल सगरमाथाको कीर्ति धर्तीको गर्भमा नै थिए तिनताका । हाम्रा पुर्खाहरु इतिहास कोर्दै गए । विराट, जनक, सीता, मैत्रेय, शुद्दोधन, सिद्धार्थ गौतम, याक्यवल्क, भुक्तमान, धर्माकर, धर्मपाल, जितेदास्ती, स्थुङ्को, निमिष, भास्करवर्मा, मानदेव, अंशुवर्मा, भृकुटी, नागराज, जालन्धर, क्राचल्ल, जितारी मल्ल, अरमुडी, अरि मल्ल, लखन थापा, नान्यदेव, विद्यापति, चन्दे्रश्वर ठाकुर, यक्ष मल्ल, खजेदुरा, भीम मल्ल, अरनिको, शंखधर, सिरिजङ्घा, दङ्गिशरण, मुकुन्द सेन, द्रव्य शाह, राम शाह, हिलिहाङ जस्ता ऐतिहासिक व्यक्तित्वहरू नेपालसँगै अमर रहिरहे ।

इतिहासले इतिहास साँचेर इतिहासको निर्माण गर्दै गयो । युगयुगदेखि ‘नेपाल’ हिमवत्खण्डको भौगोलिक र साँस्कृतिक एकताको निर्विवाद प्रतीक बनिरह्यो, सदैव युगद्योतक भू–सतह बोकेर निर्लिप्त भइरह्यो ।

इतिहासमा गोपालवंश र किराँतवंशको पतनपछि हिमवत्खण्डको फराकिलो नेपाल एकाएक छिन्नभिन्न हुनपुग्यो । यक्ष मल्ल (कान्तिपुर), मुकुन्द सेन (पाल्पा) र क्राचल्ल (सिञ्जा) निकै पराक्रमी राजाका रूपमा देखिए । तर राजाहरुको पराक्रमले राज्यको सिमाना संरक्षण गर्न सकेन् । नेपालको तराई क्षेत्रमा विकसित मिथिला र कपिलवस्तुको गौरव गाथा लोप भयोे । यक्ष मल्ल र मुकुन्द सेनको अदूरदर्शी निर्णयले कान्तिपुर र पाल्पा टुक्रिए । सिञ्जाको खस साम्राज्य पतन भयो र तिरहुत पनि ध्वस्त भयो । 

सिञ्जाको पतनपछि बाईसे चौबीसे जस्ता स–साना राज्यहरू बने । गण्डकी क्षेत्रका पाल्पा, तनहुँ, लमजुङ, गलकोट, मुसीकोट, भीरकोट, पल्लो नुवाकोट, धुर्कोट, पर्वत, गह्रौं, रिसिङ, घिरिङ, ढोर, गुल्मी, इस्मा, प्यूठान, अर्घा, खाँची, सतौँ, कास्की, सल्यान र पैँयु चौबिसे राज्यमा गनिन्थे । कर्णाली भेरी क्षेत्रका जुम्ला, जाजरकोट, दनार, अछाम, रुकुम, रोल्पा, पल्लो मुसीकोट, मालनेटा, बझाङ्ग, दैलेख बाङ्गफी, डोटी, जहारी, कालागाउँँ, धुरीकोट, गुटुम, गजुर, धर्मा, मलेवम, चिल्ली, साततला र दाङ बाइसे राज्यमा पर्दथे । 

गोरखा, मकवानपुर, चौदण्डी, विजयपुर, लिम्बुवान, काठमाडांै, भक्तपुर, ललितपुर, जस्ता छुट्टै अस्तित्वका राजनीतिक इकाइ बने । तराईमा कुनै स्वतन्त्र राज्य थिएन । जमिन्दारी प्रथा थियो । राजा, महाराजा, नवाफहरुलाई तिरो बुझाएर जमिन्दारहरु जनतामाथि शासन गर्दथे । विजयपुर राज्य अन्तर्गत झापा र मोरङ, चौदण्डी राज्य अन्तर्गत सिराहा र सप्तरी, मकवानपुर राज्य अन्तर्गत बारा, पर्सा, रौतहट सर्लाही, महोत्तरी र धनुषा, पाल्पा राज्य अन्तर्गत नारायणी नदी पश्चिमदेखि राप्ती नदी पूर्वसम्म, सल्यान राज्य अन्तर्गत बाँके र बर्दिया, तनहुँ राज्य अन्तर्गत चितवन, दैलेख जुम्ला राज्य अन्तर्गत हुम्ला, सुर्खेत, अछाम राज्य अन्तर्गत कञ्चनपुर र कैलाली तथा डोटी राज्य अन्तर्गत बैतडी र दार्चुला पर्दथे । दाङमा दङ्गिशरणको राज्य र लिम्बुवानमा किराँतहरुको राज्य थियो । सबै राज्य र राजनीतिक इकाइहरुमा स्वतन्त्र र अलग अलग अस्तित्व रहेको भान हुन्थ्यो । र राज्य विस्तार सबै शासकको मनोकांक्षा थियो ।

टुटफुटले नेपाली सीमाना नदेखिने गरी धुमिल भएर गयो, विस्तारै । यद्यपि, हिमवत्खण्डको विशाल नेपाल चोइटिएर बनेका हरेक राज्यहरूमा, फुटेको ऐनाको प्रत्येक टुक्रामा अनुहार देखिए झैँ, नेपाल नेपाल प्रतिध्वनित भैरहन्थ्योे । जनता एउटै नेपाल भूमिमा रहँदा पनि कहिले विदेही, कहिले गोर्खाली, कहिले पर्वते त कहिले पाल्पाली र जुम्ली कहलाउँथे ।

भूमि टुक्रा–टुक्रा भए पनि भौगोलिक नाम नेपाल, यहाँका वासिन्दाहरुको अभिव्यक्तिमा सदा सदा स्थायी भएर रह्यो । संस्कृत, प्राकृत, पाली, नेपाली, मैथली, भोजपुरी, अवधि, गुरुङ, नेवार, तामाङ, राई, लिम्बू, मगर, थारु, राजवंशी, लामा, शेर्पा, थकाली र खस भाषाको आत्मीय संवादले नेपाली भावनालाई कसेर बाँधिरह्यो । भूगोल टुक्रिए पनि नेपाली भावना कहिल्यै टुक्रिएन । 

बाईसे चौबीसेलगायत सबै सानाठूला राज्यहरू साँध सीमानामा सधैँजसो झगडा गर्दथे, लड्दथे, मारकाट गर्दथे । बलियोले मिच्दथ्यो । बलियो निर्बल हुँदै गएपछि फेरि लड्थे, साँध बदल्थे । बाईसे चौबीसे राज्यहरूमा बाहुबल र जनबलका आधारमा राजा बन्थे र बदलिन्थे । खासगरी मल्ल, मगर, खड्का, गुरुङ, यादव, ठकुरी, नेवार, राई, लिम्बू, खस, मगर, थारु जातिले सजिलै राज्यशक्ति हत्याउने गर्दथे । ब्राह्मण गुरु पुरोहितमा नै सीमित थिए । सीमारहित राज्यहरुको प्रत्येक दिन, सङ्कीर्ण झगडा र मारकाटमा गएर टुङ्गिन्थ्यो । र, झगडालु ससाना राज्यहरूको कुनै भविष्य थिएन । 

त्यसबेला साम्राज्यवादको तेजिलो लहर विश्वभर तीव्र गतिमा मडारिएको थियो । बेलायतले विश्वमा व्यापार विस्तार गर्न स्थापना गरेको इष्ट इन्डिया कम्पनी व्यापारको निहुँमा भारत पसिसकेको थियो । भारतका ससाना रजवाडाहरूलाई पराजय गर्र्दै हिमालय पर्वतको काखमा अवस्थित सुन्दर र शीतल नेपालसम्म पुग्न अङ्ग्रेज लालायित थियो । नेपालमाथि अङ्ग्रेजको कुदृष्टि परेको थियो । विषालु आँखाले हेर्दै अङ्ग्रेज नेपाल प्राप्तिको लक्ष्य लिएर अगाडि बढन थालिसकेको थियो । 

आपसी कलह र झगडाले शक्ति क्षीण गरिरहेका नेपाली स–साना राज्यहरू समग्र नेपालको अस्तित्व संरक्षण गर्ने गरी अंग्रेजसँग प्रतिवाद गर्न सक्षम देखिँदैनथे । दिनहुँ हुने झगडाले जनताको मनोबल पनि अत्यन्त दुर्बल बनेको थियो । तात्कालीन नेपालको राजनीतिक, सामाजिक र आर्थिक अवस्था अत्यन्त कमजोर थियो । देशको सीमाना खोज्नु र भेट्टाउनु अनिवार्य भएकाले समयले नेपालको सीमाना खोज्न, उत्थान र संरक्षण गर्न एउटा कुशल राजनीतिज्ञ, साहसी योद्धा र कूटनीतिक राजनेताको सवल नेतृत्व खोजिरहेको थियो । 

गोरखाका राजा पृथ्वीनारायण शाह नेपालको सीमाना खोज्दै अनवरत ३१ वर्षसम्म एकीकरण युद्ध गर्दै दौडिए । अठारौं शताब्दीमा नेपालको एकीकरण कसरी सम्भव भयो होला ? पृथ्वीनारायणले कसरी एकीकरण गरे होलान् ? एकदिन मेरो मनमा प्रश्न उठ्यो । प्रश्नले मलाई ती महान् राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको जीवन इतिवृत्ति र योगदान सम्झन कर गरायो । 

पृथ्वीनारायण शाहको अठोट, त्याग र कठोर परिश्रमले गोरखा राज्यको नेतृत्वमा इस्वी संवत् १७४३ (बि. सं १८००) मा नेपाल एकीकरण अभियान सुरु भयो । एकीकरणको अभियान ७३ वर्षसम्म चल्यो । इस्वी संवत्को ३ मार्च १८१६ (बि.सं. १८७३) मा नेपाल अङ्ग्रेजबीच सम्पन्न सुगौली सन्धिको दुःखान्त विन्दुमा आएर टुङ्गियो । 

पृथ्वीको बलिदानले हाम्रो प्यारो देश नेपाल निर्माण भयो । सुगौली सन्धिले नेपालको सीमाना कोरिदियो । अक्षांश र देशान्तरका लकीरहरु खिचिए । नेपाल सधैका लागि नेपालीको साझा फूलबारी बनेको छ । नेपाली साझा भावना सीमाविहीन रुपले विश्वभर फैलिरहेको छ । जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ नेपाली भाव जागृत र पल्लवित भइरहेको छ ।
 
राष्ट्र, राज्यको निर्माण र विस्तार ऐतिहासिक आवश्यकता थियो । पृथ्वीले रगत पसिना बगाएर निर्माण गरिदिएको यही देश हाम्रो मातृभूमि बन्यो । हामीले विश्वमा नेपाललाई मेरो मातृभूमि भनेर रमाउने र चिनाउने गरेका छौँ । हामी पृथ्वीले बुनिदिएको, उनिदिएको नेपाली भूभागमा बसेर गर्वसाथ हाम्रो आफ्नो वतन बताउने गरिरहेका छौँ । नेपालको राष्ट्रिय झण्डा बोकेर बाँच्ने गरेका छौं । हाम्रो इतिहासमा नेपाल एकीकरण र पृथ्वीनारायण शाह एकअर्काका पर्याय बनेका छन् । ‘नेपाल’ पथ्वीनारायण शाहको निस्वार्थ, इमान्दार र लगातार ३१ वर्षसम्मको कठोर सत्प्रयासको परिणाम हो ।  

नेपाल एकीकरणको नेतृत्व गर्ने सम्पूर्ण श्रेय पृथ्वीनारायण शाहलाई जान्छ । नेपाल एकीकरण गर्छु भनेर हिँड्दा पृथ्वी २० वर्षका थिए । विश्व विजय गर्छु भनेर निस्कदा अलेक्जेण्डर ग्रेट सिकन्दर पनि २० वर्षका थिए । राष्ट्रनिर्माता पृथ्वीनारायणलाई जर्मनीका अटोभान विष्मार्क, जापानका तोयोटोमी हिदोसी, भारतका समुन्द्र गुप्त, चीनका यीङजेहङ, फ्रान्सका नेपोलियन बोनापार्ट, अमेरिकाका जर्ज वासिङ्टन, ईटालीका गेउसेपी मेज्जनी र गेरीवाल्डीसँग दाँज्न सकिन्छ । जसले आ–आफ्नो देशको एकीकरण अनेकौं कष्ट, युद्ध र कुटचालद्धारा गरेका थिए । एकीकरण पृथ्वीको स्वार्थ वा बाध्यता वा देशको आवश्यकता जे भए पनि नेपाल एकीकरण आजको भने यथार्थ सत्य हो । 

म अभ्यस्त लेखक होइन् । आजका नेपाली युवाहरूलाई नेपाल एकीकरणको यथार्थ र पृथ्वीनारायण शाहको जीवन र योगदान सम्बन्धमा जानकारी गराउन पाए हुन्थ्यो कि भन्ने हुटहुटी मेरो मनमा उठ्यो । मैले इतिहास खोजी खोजी पढेँ । इतिहासका किताबहरुका अतिरिक्त वेदपुराण अध्ययन गरेँ । ती प्राचीन ग्रन्थहरूमा नेपाल खोजेँ । पुरातत्वका प्रमाणहरुमा निकै घोत्लिएँ । 

ती पुस्तकहरू र पुरातत्वको अध्ययनले मेरो बुझाईलाई झन् फराकिलो बनायो । इतिहास पढ्दा पढ्दै लेख्न मन लाग्यो । लेख्दा लेख्दै कथाहरु बने । लेखनको सत्यापन गर्न म स्थलगत भ्रमणमा गोरखा गएँ । त्यो खोजी अनौठो रह्यो, गोरखाको जहाँतहीँ पृथ्वीनारायण कुँदेको जस्तो लाग्यो । म आफैँ सत्रौं शताब्दीमा झरे जस्तो अनुभव भयो । अनुपम स्वप्निल आनन्द । 

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र नेपाल एकीकरणका रोचक र कारुणिक कथाहरु जोडिँदै जोडिँदै उपन्यास बन्न पुग्यो । उपन्यासले ‘सीमाना खोज्दै’ नाम धारण गरेर पुस्तकको रुप लियोे र प्रकाशन पनि भयो । ‘सीमाना खोज्दै’ उपन्यास पृथ्वीलाई चिनाउन सफल भएको सत्य पाठकहरुले गरेको पुस्तकको उच्च मागले सावित पनि गर्दछ । तर दोस्रो स्ंस्करण निकाल्न सकेको छैन । 
 
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दूरदर्शी, अठोट र परिश्रमले नेपाल निर्माण भएको सत्य कसैले नकार्न सक्दैन । नेपाल एकीकरणको श्रेय राजा पृथ्वीसँगै त्यसबेलाका सारा नेपाली जनतालाई छ । पृथ्वीको बलिदानको अवमूल्यन गर्ने हक व्यक्ति, समुदाय वा राज्य कसैलाई पनि छैन । नेपाल राष्ट्रनिर्माण गर्ने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्मान गर्नु राष्ट्र र हामी सबै नेपाली जनताको कर्तव्य हो ।

पृथ्वीलाई सम्मान गर्न हामी कहिल्यै चुक्नु हँुदैन । तर अफसोच स–साना विषयमा सार्वजनिक बिदा दिएर रमाउने सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएर राष्ट्रनिर्माताको सम्मान भने गर्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ