arrow

आज पृथ्वीजयन्ती, राष्ट्रनिर्माताको सम्झनामा विभिन्न कार्यक्रम, सरकारले सार्वजनिक बिदा दिएन, केही स्थानीय तहमा बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
prithvi-narayanshah-king.jpg

काठमाडौं । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । 

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । 

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।  
    
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३००औँ जन्मजयन्ती मनाइँदैछ । 

नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा कमलादीबाट सांस्कृतिक झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकास्थित पृथ्वीनारायण शाहको शालिकमा जम्मा भई माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । 

यसैगरी दिउँसो साढे २ बजे जमलस्थित राष्ट्रिय नाचघरमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गरिने भएको छ । यस्तै अन्य सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर पृथ्वीजयन्ती मनाउँदैछन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह दिउँसो १२ः३० बजे सिंहदरबारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम तय भएको छ । राजावादीहरुले पनि कार्यक्रम राखेका छन् । 

पृथ्वीनारायण शाहका दिव्योपदेश अहिले पिन उत्तिकै सान्दर्भिक लाग्छन् । 

शाहको जन्म दिन पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा गर्न र विदा दिन माग हुँदै आएको छ । तर सरकारीस्तरमा भने बिदाको घोषणा गरिएको छैन । 

केही स्थानीय तहहरुले भने सार्वजनिक बिदा दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ