काठमाडौं ।नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले मेलम्चीको सपना अघि बढाउने सन्त नेता कृष्णप्रसाद भट्टराईको नामसमेत स्मरण गर्न पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहनु अराजनीतिक घटना भएको बताएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएपछि आज महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजित कार्यक्रममा सहमहामन्त्री चौधरीले पानी राजधानी आइपुगेका बेला ओलीले मेलम्चीको सपना अघि बढाउने सन्त नेता भट्टराईलाई नसम्झनु अराजनीतिक भएको बताएका हुन् ।
खानेपानीमन्त्रीसमेत रहेका चौधरीले पूर्व प्रधानमन्त्री एवं सन्त कृष्णप्रसाद भट्टराईको सपना साकार पार्न छिट्टै मेलम्चीको पानी राजधानीमा ल्याइने बताए। उनले स्वच्छ खानेपानी उपलब्ध गराउन आफू लागिपरेको सुनाए । अस्थायीरुपमै भए पनि पानी छिटो काठमाडौँ ल्याउन लागिपरेको मन्त्री चौधरीले सुनाए ।
पार्टीमा युवाको नेतृत्व स्थापित भएको उल्लेख गर्दै मन्त्री चौधरीले अबका दिनमा सबै तहमा युवा पुस्ताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । पार्टीका नेता कृष्णप्रसाद सिटौलाले व्यक्तिगत स्वार्थलाई त्याग गरी युवा पुस्तालाई अघि बढाउन भूमिका खेलेको उनको भनाई थियो ।
पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले पार्टीमा युवाको भूमिका महत्त्वपूर्ण बनाउनकै लागि आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको बताए । कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका महामन्त्री बलदेव तिम्सिनालगायतले नयाँ सोच र दृष्टिकोणका साथ कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।