काठमाडौं । हामीमध्ये धेरैलाई बसमा यात्र गरिरहँदा बसभित्र पनि डिस्को बार हुन्छ र यहाँ पार्टी गर्न पनि मिल्छ भन्ने कुरा सुन्दा पत्यार नलाग्न सक्छ । तर यो वास्तविकता हो । भिजिट नेपाल २०२० लाई लक्षित गर्दै रेस नेपाल प्रालिले नेपालमै विदेशी शैलीको पार्टी बस सञ्चालनमा ल्यायो । तर कोरोना भाइरसको महामारीका कारण उक्त बस सञ्चालनमा बाधा पुग्यो ।
यसले शुरुमै महामारीको सामना गर्नुपर्याे । जसले गर्दा उक्त बस कोरोना महामारी न्यूनिकरण तथा रोकथामका लागि जारी गरिएको लकडाउनका कारण बन्द भयो । कोरोना भाइरसका विभिन्न चरणमा पार्टी बस चालु हुँदै पुनः लकडाउनका कारण बन्द हुन पुगेको थियो ।
महामारीका कारण राम्रोसँग सञ्चालनमा हुन नसके पनि पछिल्ला दिनहरुमा माग ह्वात्तै बढेको रेस नेपालले बताएको छ । कोरोना महामारीको जोखिम कम हुन थालेसंगै अहिले विभिन्न खाले पार्टीका लागि यस बसको प्रयोग हुन थालेको छ ।
पार्टी नेपाल बसका सर्भिस इन्चार्ज विनोद खड्काले पछिल्लो समय यसले राम्रो मार्केट लिन थालेको बताए । ‘शुरुमा कोरोना महामारीले गर्दा खासै सञ्चालन हुन सकेन । तर पछिल्लो समय पार्टी बस नेपालको माग बढ्न थालेको छ ।’
यसलाई दक्षिण एसियामा नै पहिलो पटक संचालनमा आएको पार्टी बस भनिएको छ । पार्टी बसले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत मनोरञ्जन दिनेछ ।