arrow

सात करोड लगानीमा ‘हनी बनी’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १२ सोमबार
Diwakar Bhattarai new movie honey bunny (2).jpg

काठमाडौं । ‘क्याप्टेन, ऐश्वर्य’ लगायतका फिल्ममा आफ्नो निर्देशकीय कौशल प्रस्तुत गरिरहेका दीवाकर भट्टराई नयाँ फिल्ममा आबद्ध भएका छन् । क्रिसमसको अवसर पारेर शनिवार उनले निर्देशन गर्ने नयाँ फिल्म ‘हनी बनी’ को घोषणा गरिएको छ । सम्पूर्ण छायांकन यूकेमा हुने फिल्मका लागि कलाकारको छनोट भने भइसकेको छैन । अडिसनबाट कलाकार छान्ने तयारीमा निर्माण टिम छ ।

‘पासवोर्ड, सम्हालिन्छ कहिले मन’ लगायतको फिल्म निर्माण गरिसकेको कम्पनी एबी इन्टरनेशलको प्रस्तुती रहने फिल्ममा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा अंकित गौतम छन् । लभस्टोरी जनरामा निर्माण हुने फिल्मको लागत ७ करोड अनुमान गरिएको छ ।

निर्माता अमित बस्नेतले पहिलो पटक दीवाकर भट्टराईसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले भने( ‘एबी इन्टरनेशलले नियमित रुपमा फिल्म निर्माण गर्दै आएको छ । हाम्रो उद्देश्य नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन हो र त्यसै अनुरुप फिल्म ‘हनी बनी’ निर्माण गर्न लागेका छौं । फिल्मलाई उत्कृष्ट बनाउन अहिले हामी स्क्रिप्टमा मेहनत गरिरहेका छौं ।’

त्यस्तै, निर्देशक भट्टराईले कोरोना महामारीभन्दा अगाडि नै काम गर्ने सहमति भए पनि कोरोनाका कारण काम अगाडि बढ्न नपाएको बताउँदै अब चाँडै छायांकन सुरु हुने जानकारी दिए । उनका अनुसार, फिल्म रोमकोम जनरामा बन्नेछ । उनले दुई वर्षअघि घोषणा गरेको आफ्नै प्रोडक्सन हाउसको फिल्म ‘तिमीसँगै हुने मन छ’ र ‘हनी बनी’ को छायांकन अघिपछि गरेर हुने बताए ।

केही हप्तामा ‘हनी बनी’ का लागि अडिसन आह्वान गरेर कलाकार छनोट गरिने उनले जानकारी दिएका छन् । उनका अनुसार, फिल्ममा अडिसनबाट छानिएका नयाँ अनुहारसँगै नाम चलेका कलाकारहरुको पनि अभिनय रहनेछ । उनी यो फिल्मलाई लिएर उत्साहित देखिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ