ढल बनाउने क्रममा पाटन दरवार क्षेत्रमा भेटियो अंशुवर्माको पालाको शिलापत्र
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ८ बिहिबार
515
Shares
तस्वीर सौजन्य : नरेन्द्र मानन्धर
काठमाडौं । ढल बनाउने क्रममा पाटन दरवार क्षेत्रमा करिब १४ सय वर्ष पुरानो लिच्छवीकालिन शिलालेख भेटिएको छ ।
बौद्ध दर्शन र संस्कृतिका अध्येता नरेन्द्र मानन्धरका अनुसार भीमसेन मन्दिर अगाडी बौद्ध राज विहार उल्लेख भएको महासामन्त अंशुवर्माको पालाको शिलापत्र प्राप्त भएको हो ।
६ फिट लामो अभिलेखमा बौद्ध धम्मचक्र र श्रावक मृग कुंदिएको छ । लिच्छवी संवत ५३६ प्रष्ट उल्लेख भएको अभिलेखमा बृषदेव कारितक भनेर राजा बृषदेवले राजविहार बनाएको भनेर उल्लेख गरिएको छ ।
लिपिविज्ञ श्यामसुन्दर राजवंशीले विगतमा पाटन दरवार क्षेत्र बौद्ध विहार भएको यो अभिलेखले पुष्टि गरेको दावी गरे । १५ पंक्ती पाठ रहेको अभिलेखमा लिच्छवी लिपि र प्रौढ संस्कृत भाषा रहेको छ । विज्ञको टोलीले बुधबार शिलालेखको प्रारम्भिक अध्ययन गरी उत्खनन् गरेर पाटन स्थित संग्रहालयमा लगेका छन् ।
उक्त शिलालेखको तस्वीर सार्वजनिक गर्दै नरेन्द्र मानन्धर लेख्छन्,‘नेपालको गौरवमय प्राचिन बौद्ध इतिहासको साक्षी म। विगतमा लिच्छवीकालिन बौद्ध मानविहार माथि पाटन दरवार क्षेत्र बनाएको भन्ने मान्यतालाई पुष्टि गर्ने ठोस प्रमाण मिलेको छ। बौद्ध धम्मचक्र र श्रावक मृगहरू कुंदिएको करिब १४ सय वर्ष पुरानो लिच्छवीकालिन शिलालेख पाटन दरवार क्षेत्रमा फेला परेको छ।
अभिलेखमा लिच्छवी संवत ५३६ प्रष्ट भएको र बृषदेव कारितक भनेर राजा बृषदेवले राज विहार बनाएको भनेर उल्लेख गरिएको छ। १५ पंक्ती पाठ रहेको महासामन्त अंशुवर्माको अभिलेखमा लिच्छवी लिपि र प्रौढ संस्कृत भाषा प्रयोग भएको छ। लिपिविज्ञ श्यामसुन्दर राजवंशीका अनुसार शिलालेखले नेपालको प्राचिन लिच्छवीकालिन बौद्ध इतिहासलाई नयाँ मोड दिन्छ, तसर्थ अभिलेखको गहन अध्ययन अनुसन्धान हुनु पर्छ। ढलको निम्ति खाडल खन्ने क्रममा भीमसेन मन्दिर अगाडीे शिलालेख यही ५ गते सोमवार भेटिएको हो।’