एमसीसी सहमतिबिना बलजफती पास गर्दा मुलुकको लागि राम्रो गर्दैन : सहमहामन्त्री परियार
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
894
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित जीवन परियारले एमसीसी सहमतिबिना बलजफती पास गर्दा यसले मुलुकको लागि राम्रो नगर्ने बताएका छन् । परियारले अमेरिकी सहयोग सम्झौता एमसीसीबारे आफ्नो पार्टीको धारणा बाहिर ल्याइसकेको सुनाए ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने-'एमसीसीबारे काँग्रेसको आफ्नै खालको दृष्टिकोण छ । यो कांग्रेसको मात्रै एजेण्डा होइन, यो नेपालीहरूको एजेण्डा हो । दलहरूका बीचमा आ-आफ्नो दृष्टिकोण छन् । मेरो व्यक्तिगत कुरा के हो भने यो सिंगो नेपालको एजेण्डा हो भनेर बहस र छलफल सुरु गर्नुपर्छ । सबै दलले छलफल गरेर अघि बढ्नुपर्छ । सम्झौताको बुँदा बुँदामा सामूहिक रूपमा छलफल गर्नुपर्छ । मेरो विचारमा त्यसरी छलफल गरेर निष्कर्ष निकालेपछि पारित गर्दा उपयुक्त हुन्छ । तर, सहमतिबिना बलजफती पास गर्दा यसले मुलुकको लागि राम्रो गर्दैन ।'
उनले आफ्नो पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे साझा धारणा बनाउनको लागि सर्वदलीय बैठक बोलाएर छलफल प्रारम्भ गरेको पनि सुनाए । उनले भने-'एमसीसी राष्ट्रिय एजेण्डा हो । यो प्रमुख प्रतिपक्षी दल एमालेको पनि एजेण्डा हो । सम्झौतामा कुन-कुन बुँदा अनुपयुक्त छन्, वा राष्ट्रिय हितविपरित छन् ? राष्ट्रियतामा प्रश्न उठाउने कुरामा, यो पारित गर्नुहुँदैन । एमसीसी भनेको अमेरिकी सहयोग रकम, यो नेपालमा मात्रै आएको होइन । विभिन्न देशमा सम्पन्न भएका घटना पनि छन् । सबै दलहरूमा छलफल गरेर र पूनरावालेकन गरेर पारित गर्नुपर्छ ।'
उनले अहिले पनि नेपाली समाजमा दलित समुदायमाथि जातीय भेदभाव र छुवाछुतको समस्या ज्युँकोत्युँ रहेको उल्लेख गरे । जातीय विभेद अन्त्यको लागि आफूले सक्रिय भूमिका निर्वाह गर्ने सुनाए। उनले भने,'म आगामी दिनमा यो एजेण्डा उठाउँछु । अर्को कुरा, हाम्रो पार्टीको आन्तरिक सङ्गठन सुदृढीकरण गर्ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ, यसको लागि पनि म विशेष पहल गर्छु । पार्टीका भातृ र शुभेच्छुक संस्था मजबुत बनाउनुपर्छ । कांग्रेसको सङ्गठनलाई सशक्त बनाउनको लागि पनि अब पार्टीभित्र व्यवस्थित कार्य योजना बनाएर अघि बढ्न जरुरी छ । त्यसको लागि हाम्रो भूमिका रहन्छ ।'