गीतकार हिराकाजी र संगीतकार नागेन्द्रको सहकार्यमा तयार भयो ‘के छ खबर’
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ४ आइतबार
618
Shares
काठमाडौं । बरिष्ठ गीतकार हिराकाजी थापा र बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको अर्को सांगीतिक कोशेली ‘के छ खबर’को भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार गीतकार हिरा काजीकै अफिसियल च्यानल ह्यागं इन्टरटेनमेन्टबाट रिलिज गरिएको गीतमा पहिलो नेपाल आईडल बुद्ध लामा र गायिका सुनिता कार्कीको स्वर रहेको छ ।
दांङका विभिन्न रमणीय स्थलहरुमा चार दिन लगाएर छायांकन गरिएको उक्त भिडियोमा पछिल्लो समयकी चर्चित मोडल उषा उप्रेती र अभिनेता सागर खनालको बेजोड अभिनय रहेको छ । लामो समयदेखि एकअर्काको प्रेममा रहेका एक जोडीको रोमाञ्चक प्रेम कहानीलाई उषा र सागरका माध्यमबाट निर्देशक हिरा काजी थापाले कलात्मक शैलीमा देखाएका छन् ।
जसमा साँचो प्रेम र प्रेममा पर्खाइको आनन्दलाई भावनात्मक शैलीमा भिडियो मार्फत प्रस्तुत गरिएको छ । राहुल प्रधानको मन मुटु छुने संगीत संयोजन रहेको गीतमा बरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको जादुमयी संगीत सृजना रहेको छ ।
सरल शब्द, जतिसुन्यो उति सुनौँ सुनौँ लाग्ने मिठास बोकेको गीतले युवा अवस्थाका कैयौँ प्रेमीहरुको मन जित्ने विश्वास गीतकार तथा निर्देशक थापाले लिएका छन् । प्रमोद भण्डारीको कोरियोग्राफी रहेको गीतको भिडियोको छायांकन सागर प्रधानले गरेका हुन् भने सम्पादन अनिल राना मगरले गरेका हुन् । उक्त भिडियोमा स्वस्तिका श्रेष्ठको शृँगार रहेको छ ।