मेगा बैङ्कको ११ औँ वार्षिक साधारण सभा : १२.०७ प्रतिशत लाभांश पारित
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
827
Shares
कठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले सेयर धनीहरूका लागि बोनस शेयरसहित १२ दशमलव ०७ प्रतिशत लाभांश पारित गरेको छ। काठमाडौँमा मङ्गलवार सम्पन्न मेगा बैङ्कको एघारौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७-७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १२ दशमलव ०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २ सय ७० रुपैयाँ ३८ पैसा लाभांश पारित गरेको हो।
त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ४६ करोड ५४ लाख ९६ हजार ४ सय ९५ रुपैयाँ ७६ पैसा बोनस शेयर र २ दशमलव ०७ प्रतिशतले हुन आउने रकम ३० करोड ३३ लाख ५७ हजार ७ सय ७४ रुपैयाँ ६२ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको छ।
साधारण सभाले बैङ्कमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ। यसै गरी, गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मूल्याङ्कनकर्ता नियुक्त गर्न र शेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ।
साधारण सभामा मन्तव्य राख्दै मेगा बैङ्कका अध्यक्ष भोजबहादुर शाहले निक्षेप सङ्कलन, व्यापार प्रवर्द्धन र लगानीकर्ताको जेथा वृद्धि र लाभांशको दृष्टिकोणले पहिलो पाँचौँ बैङ्क भित्र स्थापित गर्ने लक्ष्य लिइएको जानकारी दिए। ‘कोरोनाको कहरबाट सङ्क्रमित र आतङ्कित जनशक्ति र थलिएका उद्योग-व्यवसाय तथा अर्थतन्त्रका बीचमा पनि समकक्षी बैङ्क-वित्तीय संस्थाहरूको तुलनामा दोहोरो अङ्कमा उचित लाभांश वितरण गर्ने अवस्थामा आइपुगेका छौँ।
पञ्चवर्षीय योजनामा बैङ्कको लाभांशको दरलाई वृद्धि गर्दै लगिने र अर्थतन्त्र लगायत नियमनकारी निकायको नीति तथा निर्देशनहरू अनुकूल रहेमा लाभांश दरलाई २० प्रतिशत पुर्याउने लक्ष्य लिएका छौँ,’ अध्यक्ष शाहले भने – ‘वित्तीय बजारमा मेगा बैङ्क नेपाललाई एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैङ्कको रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ।
शाखाको सञ्जाल विस्तार नभएका जिल्ला, नगरपालिका एवं पालिकामा शाखा खोल्ने नीति लिइने जानकारी गराउँदै अध्यक्ष शाहले उत्पादनमूलक तथा आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धन गर्ने रोजगारमूलक उद्योग व्यवसायमा लगानी केन्द्रित गर्ने गरी ठुला उद्योग तथा परियोजनाहरूमा लगानीकर्ता समूहको ‘लिड बैङ्क’का रूपमा मेगा बैङ्कलाई स्थापित गर्दै लगिने बताए। यसै गरी, काठमाडौँको विशाल नगरमा आगामी तीन वर्ष भित्र सुविधा सम्पन्न कर्पोरेट अफिस निर्माण गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइने उनले बताए।
अध्यक्ष शाहले मेगा बैङ्कले गरेको व्यापार प्रवर्द्धनका आधारमा प्राप्त मुनाफाबाट राष्ट्रलाई ३० प्रतिशतका दरले कर भुक्तानी गरेर राष्ट्रिय ढुकुटीलाई संवृद्ध बनाउँदै आएको स्मरण गरे। जस अन्तर्गत यस आर्थिक वर्ष २०७७-०७८ मा एक अर्ब एक करोड सत्र लाख पच्चीस हजार पाँच सय त्रिहत्तर रुपैयाँ राजश्व दाखिला गरेको उनले बताए। उनका अनुसार, मेगा बैङ्कले गत वर्षको तुलनामा ५१ प्रतिशत बढी राजश्व दाखिला गरेको छ।
आफ्नो स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैङ्क र यसको सोचलाई स्थापित गराउँदै आएको मेगा बैङ्कले गत आर्थिक वर्ष १ करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषहरूमा उपलब्ध गराएको थियो भने यस वर्ष सङ्घीय-प्रादेशिक वा पालिका स्तरीय अस्पतालहरूको आकस्मिक कक्ष तथा बाल कक्षको सुधार-उपचारार्थ खर्च गर्ने नीति लिएको छ।
शिक्षामा बालिकाहरूको पहुँचलाई स्थापित गर्दै महिला सशक्तीकरणमा टेवा पुर्याउन र मेगा बैङ्कमै रोजगारीको अवसर सृजना गर्न बैङ्कले “एक शाखा दुई छोरी” कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ३९० जना छात्राहरूलाई वार्षिक रूपमा ४३ लाख रकम बराबरको छात्रवृत्ति उपलब्ध गराएको छ।
यो छात्र वृत्तिले शाखा सञ्चालित वडा-पालिकामा मेगा बैङ्कलाई जनताको बैङ्कको रूपमा स्थापित गरेको छ भने मेगा बैङ्कले “बैङ्क अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको थियो।
साधारण सभालाई सम्बोधन गर्दै मेगा बैङ्क नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बैङ्कको सञ्चालन सुव्यवस्थित किसिमले परिलक्षित बाटोमा आधार शिविरहरू खडा गर्दै गन्तव्यको उचाइ तर्फ अग्रसर भएको बताए। ‘हामीले कोरोनाको कहरबाट थलिएको उद्योग-व्यवसाय र अर्थतन्त्रमा पनि सम्भावनाहरूको खोजी गर्दै व्यापार प्रवर्द्धनलाई त्यतातर्फ मोडेका छौँ। जसका कारण मेगा बैङ्कको वित्तीय परिसूचक सन्तोषजनक रहेको छ ।’सिइओ खुञ्जेलीले भनिन्।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म बैङ्कको कुल निक्षेप २ अर्ब ९९ करोड रुपैयाँले वृद्धि भई १ खर्ब ४८ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। यसै गरी, खुद कर्जा ८ अर्ब ५० करोड रुपैयाँले वृद्धि भई १ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक पहिलो त्रैमासमा बैङ्कले ९१ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
मेगा बैङ्कले विभिन्न छुट तथा सुविधाहरू प्रदान गरिरहेको जानकारी दिँदै सिइओ खुञ्जेलीले ब्याज रकममा छुट, ब्याजदरमा छुट, किस्ताको भाका अवधि विस्तार, कर्जा पुनर्तालिकीकरण, जरिवाना छुट लगायतले कोभिडबाट प्रभावित ग्राहकहरूलाई राहत मिलेको बताए। सिइओ खुञ्जेलीका अनुसार, कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैङ्कले करिब ५ अर्ब ७४ करोड रुपैयाँ सहुलियत कर्जा र ३ अर्ब ७६ करोड रुपैयाँ पुनकर्जाहरू प्रवाह गरेको छ।
दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै गरेको मेगा बैङ्कलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैङ्क’ बनाउन चाहेको सिइओ खुञ्जेलीले बताए। बन्दाबन्दीको अवस्थामा पनि बैङ्कले सर्वसाधारणहरूलाई बैङ्किङ सेवा र सुविधाहरू अटुट रूपमा प्रदान गरेको स्मरण गर्दै सिइओ खुञ्जेलीले डिजिटल प्रडक्ट विभाग स्थापना गरी अत्याधुनिक सेवाहरू सञ्चालनमा ल्याइएको जानकारी दिए।
ग्राहकलाई आफ्नै घरमा बसी भिडियोमार्फत कुराकानी गरी खाता खोल्ने सुविधा स्वरूप मेगा बैङ्कले नेपालमै पहिलो ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’, ‘च्याटबट’, टिक बैङ्किङ जस्ता सेवा सञ्चालनमा ल्याएको उनले बताए।
अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैङ्कका २०३ वटा शाखा कार्यालयहरू, २४ वटा एक्सटेन्सन काउन्टरहरू, १ सय ३९ वटा एटिएम मेशिन तथा ५९ वटा शाखारहित बैङ्किङ केन्द्रहरू रहेका छन्।