arrow

आज भारत आउँदै पुटिन, मोदीसँगको भेटवार्तामा के छन् एजेन्डा ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २० सोमबार
modi-putin1.jpg

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज (सोमबार) भारत आउँदै छन्। पुटिनले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्।

सन् २०१९ मा ब्राजिलको ब्राजिलियामा भएको ब्रिक्स सम्मेलनपछि मोदी र पुटिनबिच आमनेसामने भेट हुन लागेको हो। विश्वका प्रमुख देशमध्येका दुई राष्ट्र प्रमुखको याे भेटलाई भूराजनीतिक दृष्टिकोणले पनि निकै अर्थपूर्ण मानिएको छ। 

भेटमा द्विपक्षीय सम्बन्धको अवस्था र सम्भावनाको समीक्षा गर्ने र दुई देशबिचको रणनीतिक साझेदारीलाई थप सुदृढ पार्ने उपायहरूबारे छलफल हुने बताइएको छ ।

भेटका क्रममा भारत र रुसले शिक्षा, विज्ञान, संस्कृति, प्रविधि, सैन्य प्रविधिको सहयोग, जडान मार्ग र समुद्री ढुवानी लगायतका १० भन्दा बढी द्विपक्षीय सम्झौताहरू हस्ताक्षर गर्ने छन् ।

सैन्य क्षेत्रको महत्त्वपूर्ण सहकार्यका रूपमा रुसले साढे ७ लाख एके-२०३ राइफलको निर्यात गर्ने सम्झौतामा समेत हस्ताक्षर हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुख्य रूपमा एस-४०० मिसाइलको निर्यात र अन्य रक्षा सम्बन्धी सम्झौताहरूमा द्विपक्षीय छलफल केन्द्रीत रहने भएको छ ।

सन् २०१९ को अक्टोबरमा भारत र रुसबिच जमिनबाट आकाशमा मार हान्ने सक्ने अत्याधुनिक  मिसाइल प्रणाली एस-४०० को खरिद सम्झौता भएको थियो ।

कोरोना भाइरसको महामारीविरुद्धको सहकार्यका विषयमा पनि कुराकानी हुने बताइएको छ । यस्तै अफगानिस्तान एवं अन्य क्षेत्रीय सुरक्षा चासोको विषयमा पनि कुराकानी हुने बताइएको छ ।

भारत र रुसबिच दुवै देशका विदेश मन्त्री र रक्षा मन्त्रीको सहभागितामा टुप्लसटु वार्ता समेत हुने भएको छ । जसमा खास गरी क्षेत्रिय सुरक्षाा चासाेकाे विषय केन्द्रीत रहने बताइएकाे छ । 

भारतका लागि रुसी राजदूत निकोले कुदेशेभले पुटिनको दिल्ली भ्रमणले व्यावहारिक आर्थिक नतिजा ल्याउने र दुई देशबिचको सम्बन्धका सबै क्षेत्रलाई समेटेर मस्को र नयाँ दिल्लीको द्विपक्षीय सम्बन्धलाई गति दिने बताएका छन्।

भारतीय सञ्चारमाध्यममा जनाइए अनुसार पुटिन ७ घण्टाका लागि मात्रै भारतमा रहने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ