नेपाली सेनाद्वारा असहाय बालबालिकालाई शैक्षिक र खेल सामग्री सहयोग
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
1.6k
Shares
दार्चुला । महाकाली नगरपालिका–५ गल्फैस्थित असहाय छात्रावासका बालबालिकाहरूलाई नेपाली सेनाले शैक्षिक सामग्री र खेल सामग्री वितरण गरेको छ । मङ्गलवार एक कार्यक्रमका बिच सेनाले महेन्द्र नमुना माध्यमिक विद्यालयका असहाय १५ जना बालबालिकाहरूलाई सामग्री वितरण गरेको हो ।
नेपाली सेनाको विकास निर्माण कार्यदल गण–२ र गुरु गोरख गुल्म दार्चुलाले संयुक्त रुपमा शैक्षिक सामग्री तथा खेल सामग्री सहयोग गरेको विकास निर्माण कार्यदल गण–२ का गणपति रमेश गुरुङले जानकारी दिए।
नेपाली सेनाको गुरु गोरख गुल्मले छात्रावासलाई टेबल टेनिस बोर्ड १, डोरमेट ८ थान, टोपी, मोजा, पन्जा १४÷१४ थान, स्टेशनरी, टिटि ब्याड सेट, नेट, बल, वाटर डिस्पेन्सर १ थान, वाटरजार १ थान, कप १४ सेट सहयोग तथा टेबल टेनिस बोर्ड निर्माण गरेको गुल्मपति कृष्णचन्द्र ठकुल्लाले जनाए ।
यस्तै गुल्मपति ठकुल्लाले व्यक्तिगत १५ जना असहाय छात्रहरुलाई ट्याकसुट सहयोग गरे ।यस्तै विकास निर्माण कार्यदल गण–२ ले १५ थान डिक्सनरी, ब्याडमिन्टन र्याकेट, कक, ब्याडमिन्टन जाली, प्लाष्टिक बाल्टी, ट्वाइलेट सफा गर्ने ब्रस, चेस सेट, लुडो सेट, स्ट्याण्ड सहितको क्यारमबोर्ड सहयोग गर्नुका साथै ब्याडमिन्टन कोर्ट निर्माण गरेको छ ।
सेनाले निर्माण गरि दिएको ब्याडमिन्टन कोर्ट र टेबल टेनिस बोर्डको महाकाली नगरपालिका वडा नम्बर ४ का अध्यक्ष पुष्करराज जोशी र महेन्द्र नमुना माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष महादेव बडूले संयुक्त रूपमा उद्घाटन गरे । कार्यक्रममा बोल्दै महेन्द्र नमुना माविका प्रधानाध्यापक रामदत्त जोशीले छात्रावासलाई सहयोग गर्ने नेपाली सेनालाई धन्यवाद दिँदै अन्यलाई पनि सहयोग गरिदिन अनुरोध गरे ।
सेनाको सामाजिक तथा जनहित कार्य अन्तर्गत असहाय बालबालिकाहरूलाई सहयोग गरिएको हो । असहाय छात्रावासमा हाल जिल्लाभरिका महेन्द्र नमुना माविमा अध्ययनरत १५ जना बालबालिका बस्दै आएका छन् ।