एनआरएनएका संरक्षक थापा भन्छनः 'हामी सरकार विरुद्ध मुद्दा मामिला गर्नु हुँदैन'
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
1k
Shares
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए)का संरक्षक राम प्रताप थापाले संघको जारी विवादलाई थप नलम्ब्याएर संस्था भित्रै समाधान खोज्न अपिल गरेका छन्।
जीएनएनसंग कुरा गर्दै संघका संस्थापक मध्येका एक थापाले भने, ‘मुद्दा मामिला कहिल्यै न टुंगिने प्रक्रिया हो। यसले संस्थालाई टुक्रयाउंछ । त्यसैले अहिलेको विवादलाई संस्था भित्रै मिलाउनु पर्छ।’ संघका पूर्वप्रमुख संरक्षक समेत रही सकेका थापाले यो विवादलाई ‘इगो’को लडाईं बनाउन नहुने पनि बताए।
‘यो हामी आफैले खडा गरेको संस्था हो। कहिले परराष्ट्र जाने, कहिले मुद्दा गर्ने कुरा ठिक भएन। मुद्दा मामिला गर्नु आजको आवश्यकता होइन। प्रमुख उम्मेदवारहरुलाई बोलाउं र एउटा सहमति बनाउं’, थापाले भने।
आइसीसीको कार्यकाल सकियो तर संरक्षक परिषदको कार्यकाल भने बांकी छ भन्ने परराष्ट्र मन्त्रालयको भनाइ सहि नभएको थापाले जिकिर गरे। ‘सरकारले हामीलाई अझैसम्म नागरिकता दिएको छैन। अरु धेरै काम गर्न बांकी छ। त्यसैले हामीले सहमति गरेर अगाडी बढ्नु पर्छ,’थापाले भने।
यसअघि संघका अध्यक्ष कुमार पन्तले उनी नेतृत्वको आइसीसीको कार्यकाल सकिएको भन्दै संरक्षक परिषदलाई संघको दशौं महाधिवेशन गराउन दिएको निर्देशन विरुद्ध अदालत जाने बताएका थिए। तर संघकै अधिकांश सल्लाहकार तथा पदाधिकारीहरुले सरकार विरुद्ध मुद्दा मामिला गर्न नहुने बताइ रहेका छन्। -जीएनएन