महिलामाथि कुटपिट गर्ने वकिलहरूलाई तत्काल कारबाही गर्न माग
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
601
Shares
काठमाडौँ । जनताको आयोग महाअभियान कार्य समितिले शान्तिपूर्ण तवरले आफूहरूले आन्दोलन गरेको अवस्थामा सर्वोच्च अदालत परिसरभित्रै महिला अभियन्ताहरूमाथि वरिष्ठ अधिवक्ताहरूले कुटपिट गरेको र तल्लो स्तरको गाली गरेको भन्दै उक्त घट्नाको निन्दा र घोर आपत्ति जनाएको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानले महिला अभियन्ताहरूमाथि हातपात गर्ने फोहोरी शब्द प्रयोग गरेर गाली गर्ने वकिलहरूलाई हदैसम्मको कारबाही गर्नसमेत माग गरेको छ। महाअभियानकी संयोजक तारा बरालले अदालत परिसरभित्रै अपशब्द बोल्ने वकिलहरुविरुद्ध आफूहरू कानुनी प्रक्रियामा अगाडि बढेको जानकारी दिइन् । उनले वकिलहरूले आफूहरूमाथि कुटपिट र रण्डी भनेर गाली गरेको बताइन् ।
साथै, उनले जनतालाई न्याय दिने सर्वोच्च अदालतलाई बन्दी बनाएर कालो कोट लगाउनेहरू भारु र डलरबाट चल्न थालेको समेत गम्भीर आरोप लगाइन् । उनले न्याय पाउने थलो सर्वोच्च अदालतलाई प्यारालाइसिस गराएर राखिएको पनि टिप्पणी गरिन् ।
उनले वकिलहरूले महिला÷दिदिबहिनीहरुलाई दिनदाहाडै पिटेको भन्दै उनले यसरी पिट्नेमा अधिवक्ता डा. दिनेश त्रिपाठी, लिलामणि पौडेललगायतको नामसमेत लिएकी थिइन् । बार-बेन्च समन्वय समितिलाई गद्दारहरूको समूहले वकिल र न्यायाधीशहरूको बिचमा पैसाको बार्गेनिङ गर्ने काम गर्ने गरेको पनि बरालको आरोप थियो । उनले महिलाहरूमाथि वकिलहरूले दमन गर्दा प्रहरी प्रशासन मूकदर्शक भएर बसेको गुनासो पोखिन् ।
त्यस्तै, कार्यक्रममा महिला अधिकारकर्मी सावित्री सुवेदीले न्यायालयभित्र महिलाहरूको चीरहरण भएको घट्नाप्रति खेद प्रकट गरिन् । उनले यस्तो घटना हुदाँ पनि महिला आयोग र न्यायालय केही नबोलेको भन्दै दुःख व्यक्ति गरिन् ।
उनले बार एशोसिएशनलाई बिचौलिया एशोसिएशनको संज्ञा दिइन् । उनले भनिन्,‘यो बार एशोशिएशनबाट आम जनतालाई अब केही पनि अपेक्षा छैन ।’ उनले महिलाहरूले गरिरहेको अभियानमा आफ्नो पूर्ण समर्थन रहेको पनि विश्वास दिलाइन् । र, आगामी दिनमा अझै सशक्त भएर लाग्न पनि उनले आग्रह गरेकी छिन् । साथै, उनले महिलाहरूलाई दुर्व्यवहार गर्नेहरूलाई सडकमा ल्याएर खुट्टा ढोगाउने पनि चेतावनी दिइन् ।
यस्तै, अर्की अभियन्ता गोमा घिमिरेले न्यायालयमा समेत राजनीतिकरण भएको भन्दै दुःख व्यक्त गरिन् । साथै, उनले आफूहरूमाथि न्यायालयभित्र हातपात गर्ने र अपशब्द बोल्ने अधिवक्ताहरूमाथि कडाभन्दा कडा कारबाही गर्न समेत प्रहरी प्रशासनसमक्ष माग गरिन् । उनले यो व्यवस्था नै परिवर्तन गर्नुपर्ने भन्दै त्यसको लागि आफूहरू मर्न र मार्न तयार रहेको चेतावनी दिइन्।
कार्यक्रममा मेनुका दंगालले आफूहरूमाथि न्यायालयभित्रै हातपात भएको र अपशब्द प्रयोग भएको भन्दै यसको विरुद्धमा कानुनी उपचारमा जाने स्पष्ट पारिन् । उनले भने,‘हामी त जनतालाई न्याय पाउने अधिकारबाट वञ्चित गरिनुहुँदैन भनेर प्रदर्शनमा उत्रिएका थियौँ । तर, अदालत परिसरभित्रै हामीमाथि वकिलहरूबाट हातपात भयो । फोहोरी शब्द प्रयोग गरेर गाली गरिएको छ । यो निन्दनीय घटना हो । हामी यसको विरुद्धमा पुलिस केश गर्दैछौं ।’
उनले आफूहरूमाथि प्रधानन्यायाधीश जबराको मान्छे भनेर लगाइएको आरोपमा कुनै सत्यता नभएको पनि स्पष्ट पारिन् । उनले आफूहरूले पैसा खाएको भनेर लगाएको आरोपमा सत्यता नभएको भन्दै आफूहरूको बैङ्क ब्यालेन्स हेर्नसमेत अनुरोध गरेकी छिन् ।
त्यस्तै, कार्यक्रममा अर्का वक्ता मनिष मानव, लक्ष्मी अधिकारी, वीरेन्द्र डङ्गोल र महिमा शाहीलगायतले आ-आफ्नो धारणा राखेका थिए । उनीहरूले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका महिला दिदिबिहिनीहरुमाथि हातपात गर्नेहरूमाथि कानुनी कारबाही हुनुपर्ने आवाज उठाएका थिए ।