arrow

सुस्तामा भुलवश आएकोमा एसएसबीले माग्यो माफी, ड्रोन चलाएको भएन पुष्टि 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
susta_file1.jpg
तस्वीर–फाइल ।

नवलपरासी । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अनधिकृत रूपमा नेपाल पसेर सुस्ताको नेपाली आकाशभित्र ड्रोन उडाएको हल्लामात्र भएको अधिकारीहरुले बताएका छन् । आइतबार सुस्ताको आकाशमा ड्रोन उडाएर एसएसबीले तस्बिर र भिडियो खिचेको भनी भएको हल्ला निराधार भएको नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । 

उनले सोमबार सुस्ताको विवादित क्षेत्रको स्थलगत अध्ययन पश्चात भने, ‘भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली आकाशभित्र ड्रोन उडाएको खबरको पुष्टि भएको छैन । आइतबार सुस्ता नजिकै रहेको विवादित क्षेत्रमा एसएसबीका जवानहरू पसेको र नापजाँच गरेको पुष्टि हुन आए पनि ड्रोन उडाएको कुराको कसैबाट पुष्टि हुन सकेको छैन । यो हल्लामात्र हो ।’

स्थानीयवासी कसैले पनि ड्रोनको जिकिर गरेका छैनन् । सुस्ताको विवादित क्षेत्रमा एसएसबी पसेकोबारे सशस्त्र प्रहरी सुस्ताले समकक्षी भारतीय एसएसबीसित कुराकानी गरेको छ । कुराकानीमा एसएसबीले भुलवश पसेको जानकारी गराएको मिश्रले भने ।

ग्राउण्ड रिपोर्टका लागि आइतवार एसएसबीका जवानले नापजाच गर्दै सुस्ताको विवादित क्षेत्रमा पसेपछि सुस्ताका स्थानीयवासीले फोटो खिच्दै विरोध जनाएपछि एसएसबीका जवान सुस्ताको विवादित क्षेत्रबाट तुरून्त पछाडि हटेको सुस्ता बचाउ अभियानका प्रवक्ता रबिन्द्र जयसवालले बताए । 

उनले भने, ‘एसएसबीका जवानले नापजाँच गर्नका लागि मेजरिङ टेप लिएका थिए तर ड्रोन उडाएका थिएनन् ।’ उनले ड्रोनबारे गलत कुरा मिडियामा फैलाइएको बताए ।

प्रवक्ता जयसवालले भने, ‘सुस्ताको त्यो विवादित क्षेत्रमा एसएसबी पस्न पनि हुँदैन, त्यो क्षेत्र विगत लामो समयदेखि नेपालभारत दुबै पक्ष कसैले केही नगर्ने भनी आपसी सहमति भए पश्चात यथास्थितीमा छाडिएको छ ।’

१९ हजार ४ सय ८० हेक्टर जग्गा विवादित भनिएको छ । धनहिया रेताको त्यो क्षेत्र विगत लामो समयदेखि यथास्थितिमा छाडिएको छ । त्यस क्षेत्रमा एसएसबी पसेर नापचाज गरेको स्थानीयले देखेपछि विरोध जनाएका हुन् । विरोध हुनासाथ एसएसबी त्यहाँबाट फर्केको थियो ।

एसएसबी विवादित क्षेत्रमा पसेको खबर आउनासाथ सुस्तास्थित सशस्त्र प्रहरीका सइ चित्र खड्काले एसएसबी क्याम्प रमपुरवा भारत बिहारका इन्स्पेक्टर दिनेश्वर डेंगासित फोन सम्पर्क गरी सुस्तामा एसएसबी जवान किन पसेको ? भनी सोधेका थिए । 

जवाफमा डेंगाले ग्राउण्ड रिपोर्ट तयारीका लागि आएका जवानहरू यस क्षेत्रका लागि नयाँ नभएको र भूगोल थाहा नपाएर पसेको भन्दै माफी मागेका थिए । यसलाई नेपाल पक्षले अन्यथा नलिन एसएसबीले भनेको नवलपरासीका प्रजिअ मिश्रले बताए ।

हरेक वर्षायाम पश्चात एसएसबीले क्याम्पदेखि नारायणी नदी कति नजिक आएको वा पर सरेको भनेर भारत सरकारलाइ ग्राउण्ड रिपोर्ट बुझाउने गरे अनुसार यसै कामका लागि सो टीम सुस्तामा खटिएको एसएसबीले नेपाली पक्षलाई जनाएको छ। खटिएका जवानहरुले विवादित क्षेत्रको भूगोल थाहा नपाएर पसेकाले एसएसबीले माफी मागेको सशस्त्र प्रहरी बललाई उधृत गर्दै प्रजिअ मिश्रले बताए ।

विवाद पश्चात अध्ययनका लागि विवादित क्षेत्र पुगेका सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले एसएसबीका जवान भुलवश सुस्ताको विवादित क्षेत्रमा पसेको सत्य भए पनि ड्रोन प्रयोग गरेको कुरा हल्ला मात्र रहेको बताए ।

स्थलगत भ्रमण गरेर आएका पाण्डेले एसएसबीका नयाँ जवानहरू एरिया थाहा नपाएर पसेका रहेछन्् भन्दै नेपाली पक्षको विरोध पछि भारतीय पक्षले माफी माग्दै सुधार गरेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ