स्याङ्जा । स्याङ्जाका गायक राजेश भण्डारीले ‘अधुरो यात्रा’ नामक साङ्गीतिक कोसेली बजारमा ल्याएका छन् । आफैले शब्द सर्जन गरेका गायक भण्डारीले तिहारको सन्दर्भ पारेर ‘अधुरो यात्रा’ नामक लोक संगित कोसेली बजारमा ल्याएका हुन् ।
लोक सङ्गीतको उर्भरभुमि स्याङ्जा आफैमा विभिन्न जातजातिको आ-आफ्नै कला र संस्कृति रहेको छ । दाजु बहिनीको पिडादायक कथालाई जोडेर गायक भण्डारीले भिडियो र सङ्गीत भरेका छन् ।
स्याङ्जा वालिङ ७ पैदीखोलाका गायक भण्डारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला स्याङ्जाका सचिव पनि हुन् । स्याङ्जाको वालिङमा जन्मिएका गायक भण्डारीले वालिङ नगरपालिका भित्र विभिन्न क्षेत्रलाई समेटेर यो गीतको छायाङ्कन गरेका छन् । सङ्गीत मार्फत दाजु बहिनीको माया प्रेम र जन्म गाँउको भिडियो मार्फत छायाङ्कन गरी चिनाउने भुमिका महत्त्वपूर्ण हुने विश्वास लिएर एल्बम बजारमा ल्याएको गायक भण्डारीले बताए ।
आफ्नो निर्देशनमा तयार पारिएको छायाङ्कनमा नव प्रतिभा शिला गोतामे, सृष्टि विश्वकर्मा, सलिना थापा वालिङका स्थानीय हुन भने दाजु बनेर भिडियोमा खेलेका सूर्य पन्थी गुल्मीका हुन् । नव प्रतिभाको खोजी सँगै उनीहरूको कलाक्षेत्रमा थप उत्साह थप्न टेवा पुगेको उनले बताएका छन् । उनीहरू उक्त भिडियोमा दाजु, बहिनी पागल भएको देखाइएको छ ।
गीतको बोल अनुसार बहिनी मन्दिरमा पूजा गर्न जाँदा जबरजस्तीमा पर्नेछन् । बहिनीको त्यो अवस्था दाजुले देख्ने छन् । बहिनीलाई बचाउन जाँदा उनी आक्रमणमा परेर घाइते हुन्छन् । उनको उपचार पछि दाजु मानसिक रोगी भएको दृश्य देखाइएको छ । दाजु सँगै बहिनी पनि पछि मानसिक रोगी बन्ने छन् । यसैमा आधारित रहेर दाजु बहिनीको जीवनमा ‘अधुरो यात्रा’ बनाइएको छ ।
दाजुको अभिनय सूर्य पन्थीले गरेका छन् भने बहिनीको अभिनय शिला गोतामेले गरेकी छन् । त्यस्तै डाक्टरको अभिनय सृष्टि विश्वकर्माले र नर्सको अभिनय सलिना थापाले भूमिका दिएकी छन् । उक्त सङ्गीतमा स्वर भण्डारीले एकल दिएका छन् भने भिडियो मिक्सिङ नरेश पाण्डेले गरेको उनले बताए ।
यस एल्बमले दाजु बहिनी प्रति हुने मायाका बारेमा भन्न खोजिएको देखिएको छ । तिहार दाजु भाइ, दिदी बहिनीको चाड भएकाले मौसम सुहाउँदो एल्बम बजारमा आएको अनुमान दर्शक, श्रोताले लगाएका छन् ।