आर्यनलाई जमानत, गौरी दिपावलीअघि नै घरमा स्वागतका लागि बत्ती झिलिमिली पार्दै
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
787
Shares
काठमाडौं । मुम्बई क्रुज ड्रग्स मामिलामा पक्राउ परेका बलिउड बादशाह शाहरुख खानका छोरा आर्यनले जमानत पाएका छन् । उनले बिहीबार जमानत पाएका हुन् । गत २ अक्टुबरमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले नियन्त्रणमा लिएपछि उनी जेलमै छन् ।
उनी २६ दिनको जेल बसाईपछि शुक्रबार रिहा हुनेछन् । कागजात नआइपुगेकाले आर्थर रोड जेलले उनलाई बिहीबार रिहा नगरेको हो ।
बाम्बे उच्च अदालतले आर्यनसहित मुनमुन धमीचा र अरबाज मर्चेन्टलाई जमानत दिएको हो । आगामी २ नोभेम्बरमा शाहरुखको जन्मदिन हो ।
उक्त जन्मदिन सबैले मिलेर घरमै मनाउने छन् । आर्यनको रिहाई शाहरुखको गिफ्ट भएको समेत पनि तुलना गर्न थालिएको छ ।
आमा गौरीले घरमा नै बत्ती बालेकी छिन् । दिपावलीअघि नै आर्यन घरमा आएसँगै उनले दिपावली गरिरहेकी हुन् ।
यसअघि उनको जमानत पटक पटक पछाडि धकेलिएको थियो । सरकारी वकिलहरुले आर्यनलाई जमानत दिइयो भने साक्षीहरुलाई प्रभावित पार्न सक्ने तर्क गरेका थिए ।
आर्यनका वकिलले भने लागुऔषध लिएको र किनबेच गरेको मामिला नभएकाले जमानत दिनुपर्ने तर्क गरेका थिए ।
आर्यनले भने आफूले लागुऔषध लिने गरेको यसअघि नै स्वीकार गरिसकेका थिए । उनले बयानका क्रममा चरेस पिउने बताएका थिए । उनले भनेका थिए, ‘मैले चरेस पिउँछु ।’
क्रुजमा ड्रग्स पार्टी गरेको आरोपमा गिरफ्तार भएर जेलमा रहेका आर्यनले ड्रग्स लिने गरेको बताएका थिए । उनको दशैं जेलमै बितेको थियो ।
बिहीबार जमानत पाएपछि उनी शुक्रबार वा शनिबार रिहा हुनेछन् । यदि उनी शुक्रबारसम्म जमानत नपाउने भएको भए शनिबारदेखि अदालत बन्द भएर १४ नोभेम्बरपछि मात्र खुल्नेछ ।