लगातारको मूल्यवृद्धिपछि पाकिस्तानमा विपक्षी दलहरूद्वारा सरकारविरुद्ध प्रदर्शन
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
978
Shares
इस्लामावाद। पाकिस्तानको विपक्षी डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) र पास्कितानी पिपुल्स पार्टीले शुक्रवार सरकारविरुद्ध चर्को प्रदर्शन गरेको छ। सरकारले मूल्यवृद्धिलाई नियन्त्रण गर्न नसकेको र मुलुकमा अराजकता बढाएको भन्दै प्रधानमन्त्री इमरान खान सरकारविरुद्ध प्रदर्शन गरेको हो।
यसअघि पीडीएमले सरकारविरुद्ध रावलपिण्डीबाट १५ दिने आन्दोलन सुरु गरेको थियो। पछिल्लो समय पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको मूल्य लगातार वृद्धि भइरहेको छ। पहिलो चरण अन्तर्गत ठुला सहरहरूमा विरोध प्रदर्शन गर्ने, दोस्रो चरणमा सार्वजनिक बैठकहरू र लङ मार्चहरू गर्ने काम भइरहेका छन्।
कराचीको इम्प्रेस मार्केट जमैत उलेमा आई इस्लाम फजल (जेयूआई एफ)का महासचिव मौलाना अब्दुल गफूर हैदरले मूल्यवृद्धि र वर्तमान सरकारविरुद्ध जनमत सङ्ग्रह गरिनुपर्ने बताएका छन्। जेयूआईएफले गरिब, किसान र वकिलहरूले पनि उनीहरूलाई ऐक्यबद्धता व्यक्त गरेका छन्।
मूल्यवृद्धिलाई नघटाएसम्म सरकारविरुद्धको आन्दोलन जारी राख्नेसमेत फजलुर रहमानले बताएका छन्। उनले आईएमएफको पछिल्लो रिपोर्टले मुलुक दयनीय अवस्थामा पुगेको बताएका छन्।