arrow

कम्युनिस्ट विभाजित भए भनेर ढुक्कले नबस्नु : रामचन्द्र पौडेल

'काँग्रेस सुधारको बाटोमा'

logo
रासस,
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
ram-chandra-poudel--damauli-kartik-2078.jpg
तस्बिर : रासस

दमौली। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस सुधारको बाटोमा अगाडि बढेको बताएका छन्। नेपाली काँग्रेस भिमाद नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले काँग्रेस सुधारको बाटोमा अगाडि बढ्न खोजेको आभास हुन थालेको बताए।

“काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत देशभर महाअभियान चलिरहेको छ”, वरिष्ठ नेता पौडेलले भने, “काँग्रेसमा लहर आएको छ, यसले नेपालमा लोकतन्त्रको भविष्य सुनिश्चित छ भन्ने आभास हुन थालेको छ।” उनले तल्लो तहबाटै काँग्रेसमा आकर्षण बढेको उल्लेख गर्दै काँग्रेसलाई सुधार र सिद्धान्तको बाटोमा अगाडि बढाउने सङ्कल्प देखा परेको छ भने।

वरिष्ठ नेता पौडेलले भने, “सुदूरपश्चिमदेखि पूर्वसम्म, हिमालदेखि तराईसम्म काँग्रेसमा नयाँ जागरण देखा परेको छ। यसले निश्चय नै नेपालको राजनीति, लोकतान्त्रिक मान्यता र परिवर्तनलाई संस्थागत गर्न सहयोग पुग्छ।” उनले दुई तिहाइ मत प्राप्त कम्युनिस्ट पार्टी विभाजित भए पनि काँग्रेस त्यत्तिकै ढुक्क हुने अवस्था नरहेको बताए। “काँग्रेसको प्रमुख विपक्षी कम्युनिस्ट पार्टी हो”, उनले भने, “अरू फुटे भनेर हामी रमाउने होइन, हामीले आफ्नो सङ्गठन बलियो बनाउनुपर्छ। हामी आफैमा सजग र प्रतिबद्ध भएर अगाडि बढ्नुपर्छ।”

तनहुँका दश वटै पालिकाबाट विजयी भएर आएका सबै नेता तथा कार्यकर्तामा आफ्नो अनुहार देखेको भन्दै वरिष्ठ नेता पौडेलले यो वा त्यो भनेर कित्ता छुट्टाउन नहुनेमा जोड दिए। “काँग्रेसलाई लोकतान्त्रीकरण र रूपान्तरण गर्ने उत्साह लिएर निर्वाचित भएर आएका सबैमा मैले मेरो अनुहार देखेको छु,” उनले भने। 

नेपाली काँग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपानेले राजनीतिलाई व्यवस्थित गर्ने अभियानमा लाग्नुपर्नेमा जोड दिए। नेपाली काँग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले विचार र प्रेरणाको स्रोत बिपी कोइरालापछि रामचन्द्र पौडेल भएको दाबी गर्दै कार्यकर्ताले नेता छान्दा मूल्याङ्कन गर्नुपर्ने र १४औँ महाधिवेशनमा सही नेतृत्व छनोट गर्न आग्रह गरे।

नेपाली काँग्रेस भिमाद नगर समितिका सभापति अरविन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँग्रेस क्षेत्रीय सभापति किसान गुरुङ, राष्ट्रियसभा सदस्य प्रकाश पन्थ लगायतले सम्बोधन गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ