चलचित्र 'उँचाइ' को टोलीले गर्यो नेपालीहरूको आत्मीयताको प्रशंसा
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
1.6k
Shares
नाम्चे। सगरमाथा आधार शिविरसम्मको पदयात्रालाई प्रमुख विषयवस्तु बनाएर निर्माण गरिन लागेको चलचित्र उँचाइको छायाङ्कन टोलीले नेपालमा पाएको आत्मीयताको खुला मनले प्रशंसा गरेको छ। नेपालमा करिब एक महिना छायाङ्कनको योजना बनाएर आएको टोलीले काठमाडौँ र सोलुखुम्बुमा छायाङ्कन सकाइसकेको छ भने मनाङमा छायाङ्कन गर्न बाँकी रहेको छ।
चार पाको उमेरका मित्रहरूको सगरमाथा आधार शिविरसम्मको पदयात्रालाई समेटेर निर्माण गर्न लागिएको चलचित्रमा भारतीय सुपरस्टार अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर र बोमन ईरानीले चार मित्रहरूको भूमिका निर्वाह गर्ने छन्। त्यसैसरि परिनीति चोपराले नेपाली पथप्रदर्शकले भूमिका निर्वाह गर्ने छिन्।
चलचित्र निर्माण भारतको ठुलो निर्माण गृह राजश्री प्रडक्सनले गरेको हो। चलचित्रको निर्देशन सुरज वर्जातियाले गरेका छन्। चलचित्रले सगरमाथा आधार शिविरको पदयात्राको बारेमा विभिन्न विषयवस्तुहरू समेट्ने विश्वास गरिएको छ।
चलचित्र निर्माणका प्रमुख सुब्रमन्यमले चलचित्रको कथावस्तु बारे धेरै बोल्न नचाहे पनि नेपालमा पाएको स्वागत र मायाको मुक्तकण्ठले प्रशंसा गरेका छन्।
उनले भने 'नेपाल प्रवेश गरेदेखि हामीले पाएको सहयोग र स्वागत भुल्न नसकिने खालको छ। नेपाली मानिसहरू साह्रै मिलनसार र सहयोगी छन्। नेपाली दर्शकहरूले हाम्रो चलचित्रलाई पनि हामीलाई देखाए जस्तै माया देखाउँछन् भन्ने विश्वास छ।'
भारतीय कलाकारहरू अनुपम खेर, बोमन ईरानी र परिनीति चोपराले नेपालको सौन्दर्य र मानिसहरूको व्यवहारको तारिफ गरेका छन्। नेपालीहरू मिजासिला र सहयोगी रहेको उनीहरूले अनुभव रहेको सुनाए।
चलचित्र छायाङ्कनका लागि अमिताभ बच्चन र डेनी डेन्जोङगपा भने नेपाल नआएको र उनीहरूको स्थानमा डुप्लिकेटले आवश्यक कार्यहरू गरेको बताइएको छ। उनीहरू स्वास्थ्यका करण नेपाल नआएको बताइएको छ।
चलचित्र निर्माणमा नेपाली पक्ष थ्री व्हिल्स फिल्म्स प्रालीले छ्याकन टोलीको ट्रान्सपोर्ट, होटेल, खाना लगायतको व्यवस्थापन सम्हालेको थियो। थ्री व्हिल्सले नेपाल सरकारसँग समन्वय गर्ने र छायाङ्कन स्वीकृतिको जिम्मा पनि लिएको थियो।
थ्री व्हिल्सका सुरज आचार्य र दीपक पन्तले प्रमुख जिम्मेवारी सम्हालेको थ्रि व्हिल्सका प्रडक्सन लाइन सुरेश अधिकारीले जानकारी दिएका छन्। चलचित्रको छायाङ्कनको अनुमति सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, गृह मन्त्रालय एवं विभागहरूबाट लिइएको बताइएको छ। छायाङ्कन टोलीमा २२९ जना भारतीय र ९७ जना नेपाली रहेको बताइएको छ।