मन्त्रीले नै राजीनामा दिएपछि बलुचिस्तानको राजनीति सङ्कट थप गहिरियो
एजेन्सी,
प्रकाशित २०७८ असोज २६ मंगलबार
946
Shares
फाइल तस्बिर
बलुचिस्तान। बलुचिस्तानमा असन्तुष्ट मन्त्रीहरू, सल्लाहकारहरू र संसदीय सचिवहरूको एक समूहले आफ्नो राजीनामा बुझाएको छ। उक्त राजीनामापछि प्रान्तमा राजनीतिक सङ्कट थप गहिरिएको छ। तर, मुख्यमन्त्री जाम कमल खानले आफ्नो पद छोड्न भने अस्वीकार गरेका छन्।
सरकारी स्रोतका अनुसार मुख्यमन्त्रीप्रति आक्रोशित समूहले गभर्नर सैयद जहूर अहमद आगालाई राति गभर्नर हाउसमा भेटेर राजीनामा दिएका हुन्।
राजीनामा दिनेहरूमा अर्थमन्त्री मीर जहूर अहमद बुलेदी, खाद्य मन्त्री सरदार अब्दुल रहमान खेतरान, समाज कल्याण मन्त्री मीर असद बलोच, मुख्यमन्त्रीका सल्लाहकार अकबर अस्कानी र मोहम्मद खान लेहरी, संसदीय सचिव बुशरा रिन्द, महजबीन शीरन, लाला रसिद बलोच, सिकंदर उमराणी रहेको छन्।
आक्रोशित समूहका अधिकांश सदस्यहरू सत्तारुढ बलुचिस्तान अवामी पार्टी (बीएपी) का हुन्। मुख्यमन्त्रीले राजीनामा दिन अस्वीकार गरेपछि मन्त्रीहरूले राजीनामा दिएका हुन्।
मीर बुलेदीले यदि मुख्यमन्त्रीले राजीनामा नदिएमा उनी विरुद्ध अविश्वास प्रस्ताव पेस गर्ने बताएका छन्।
बलुचिस्तान खनिज र प्राकृतिक संसाधनमा धनी हुँदाहुँदै पनि पाकिस्तानको सबैभन्दा गरिब प्रान्त हो। स्वास्थ्य, शिक्षा, र जनसङ्ख्या कल्याणमा देशको सामाजिक आर्थिक संकेतकहरूमा पनि निकै तल रहेको छ।