इच्छाराज तामाङसहित १२ जनालाई एक साता हिरासतमा राख्न आदेश : ठगी मुद्दामा अनुसन्धान हुँदै
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २० बुधबार
2.9k
Shares
काठमाडौँ। ७० करोड भन्दा बढी ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष तथा नेकपा एमालेका पूर्व सांसद इच्छाराज तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।
मङ्गलवार जिल्ला अदालत काठमाडौँले ७० करोड भन्दा बढी ठगी गरेको आरोपमा पक्राउ परेका १२ जनालाई नै पाँच दिन थुनामा राख्न अनुमति दिएको हो।
उनीहरूलाई गत सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले करोडौँ रकम ठगी तथा हिनामिना गरेको आरोपमा पक्राउ गरेको थियो।
तामाङ सञ्चालक रहेको सो सहकारीले ठगी गरेको भन्दै बुधवारसम्म १३७ जना पीडितले सीआइबीमा उजुरी दिएका छन्।
सीआईबीका प्रमुख डिआइजी धिरजप्रताप सिंहले मुख्य सञ्चालक तामाङसहित १२ जनालाई नै म्याद थप गरि अनुसन्धान अघि बढाइएको जानकारी दिए।
उनीहरू पक्राउ परेपछि प्रहरीमा गुनासो र उजुरी आउने क्रम बढेको छ। उनीहरू विरुद्ध सोमबारसम्म ४६ करोड रुपैयाँ ठगी र हिनामिना गरेको भन्दै गुनासो आएको थियो। सो रकम बढेर मङ्गलवारसम्म ७० करोड भन्दा बढी पुगेको डिआइजी सिंहले जानकारी दिएका थिए। पीडितकै उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका तत्कालीन अध्यक्ष तामाङ, वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ र प्रबन्धक भगवान् बहादुर सिंह छन् ।
यसै गरी जुनियर असिसटेन्ट मेनेजर मायोनानी महर्जन, जुनियर असिसटेन्ट मेनेजर एलिना तुलाधर, जुनियर अधिकृत शङ्कर प्रसाद पाठक, असिसटेन्ट सङ्गीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, बुद्धराज तामाङ, कौस्तुभ केतन ढुङ्गाना, विजय विक्रम शाह र पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने पक्राउ परेका छन्।
सीआइबीले ठगीमा अन्य व्यक्तिहरूसमेत तानिन सक्ने र त्यसतर्फ समेत अनुसन्धान जारी रहेको जनाएको छ। ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उनीहरूलाई सङ्गठित रूपमा ठगी गरेको आरोपमा मुद्दा अघि बढाइएको जनाए। ठगी मुद्दामा प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले मुद्दा अदालतमा दर्ता गर्छ।