arrow

नेपालका सुरक्षा निकायहरुलाई आधुनिकीकरण गरेर समय सापेक्ष बनाइने छ: गृहमन्त्री

राष्ट्रियता, विधिको शासन र शान्ति सुरक्षा स्थापनार्थ खटिने प्रहरीको प्रशंसा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २० बुधबार
balkrishna-khad-police-program.jpg

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न र विधिको शासन स्थापनार्थ नेपाल प्रहरीको भूमिका अतुलनीय रहेको बताएका छन् ।

६६औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित कार्यक्रममा गृहमन्त्री खाणले उर्जाशील जीवनको अतुलनीय समय प्रहरीमा रहेर राष्ट्रियता, विधिको शासन र शान्ति सुरक्षा स्थापनार्थ लागि पर्नेहरूको प्रशंशा गरे ।

‘शान्ति सुरक्षा र अमन चयन कायम गर्न र विधिको शासन स्थापनार्थ नेपाल प्रहरीको भूमिका अतुलनीय छ,’ मन्त्री खाणले भने, ‘उर्जाशील जीवनको अतुलनीय समय प्रहरीमा रहेर राष्ट्रियता, विधिको शासन र शान्ति सुरक्षा स्थापनार्थ लागिपर्ने प्रहरीहरूप्रति मेरो सम्मान छ ।’

सरकारले नीतिगत निर्णय गर्दा हुने विरोधमा सबैभन्दा पहिला विरोधीको निसानामा ड्युटीमा रहेको बर्दीधारी प्रहरी पर्ने भन्दै उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनालाई कसरी आधुनिकीकरण गरेर समय सापेक्ष बनाउने भन्नेमा सरकार गम्भीर रहेको बताए ।

उनले जनताको जीवन रक्षा राज्यको पहिलो दायित्व रहेको बताए । जनताको जिउ धन र सुरक्षामा प्रहरीले अहिलेसम्म गरेको कामको प्रशंशा गर्दै उनले आगामी दिनमा यो भन्दा अझ राम्रो गर्ने विश्वास आफूलाई रहेको बताए । प्रहरीलाई कर्तव्यनिष्ट र साधन स्रोत सम्पन्न बनाउन पूर्वगृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा लागिरहेको उनले बताए ।

विश्वभर फैलिएको कोभिड–१९ महामारी, प्राकृतिक प्रकोप, बाढी, पहिरो डुवानलगायत विपद्मा परेका नागरिकलाई आफ्नो जीवनको परवाह नगरी उद्दारमा खटिने प्रहरीको कार्य सराहनीय रहेको बताए । कर्तव्य पालनाको सिलसिलामा जीवन आहुती दिने अमर प्रहरीका परिवारसँग सरकार सधै समिपमा रहने उनको भनाइ थियो ।

प्रहरी दिवसको अवसरमा यसवर्ष कर्तव्य पालनाको शीलशीलामा अमरत्व प्रदान गर्ने ३३ प्रहरीका परिवारलाई सम्मान गरियो । ती मध्य ७ जनालाई काठमाडौंबाट र अन्य २६ जनालाई विभिन्न प्रदेशमा प्रहरीले सम्मान गरेको कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट पूर्वप्रहरी सहायक निरीक्षक चैतमाया डंगोललाई सम्मान गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ