मुख्यमन्त्री राउतको राजीनामा माग गर्दै सीके राउतका कार्यकर्ताले घेरे मन्त्रिपरिषद्को कार्यालय
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ असोज १८ सोमबार
899
Shares
जनकपुरधाम। प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गरेका छन् ।
बेटी बचाउ, बेटी पढाऊ अभियान अन्तर्गत साइकल खरिदमा भ्रष्टाचारको आरोप लागेपछि जनमत पार्टीका कार्यकर्ताहरूले मुख्यमन्त्री राउतको राजीनामा मागेका हुन् । उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्दै साइकल चोर देश छोड, भ्रष्ट प्रदेश सरकार मुर्दावाद, जनमत पार्टी जिन्दाबाद जस्ता नारा लगाका छन् ।
जनमत पार्टीकी केन्द्रीय सचिव अनिता साहले भ्रष्टाचारको छानबिन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेकोमा अख्तियारका पदाधिकारीलाई धन्यवाद दिइन् । साहले भनिन्, ‘अन्य कार्यालयमा छापा मार्दा मधेस र सङ्घीयता विरोधी भएन ।'
मुख्यमन्त्री कार्यालयमा छापा मार्दा अख्तियार मधेस र सङ्घीयता विरोधी भयो प्रश्न गरिन्। उनले छानबिन गर्न र दोषी ठहर भए कानून बमोजिम कारबाही गर्न अख्तियारसँग आग्रह समेत गरिन्।
यता, जनमत पार्टीका कार्यकर्ताहरूले जनकपुरधामको सडक मर्मतमा चासो नदेखाएको भन्दै आजै जनकपुरधाम उपमहानगरपालिका र खानेपानी तथा ढल व्यवस्थापन विभागमा तालाबन्दी समेत गरेको छ । पार्टीले जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहको कार्यकक्षमा तालाबन्दी गरेको छ। सुरक्षाकर्मीले रोक्न खोज्दा उनीहरूले न्यायिक समिति कक्षमा तोडफोड समेत गरेका छन् ।