विद्युत प्राधिकरणले पोलको भाडा बढाउँदा केवल टेलिभिजन व्यवसायी मर्कामा
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १३ बुधबार
1.7k
Shares
फाइल तस्विर।
काठमाडौं। केवल टेलिभिजन व्यवसायीहरूले आफ्ना मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन् । बुधवार सरकारको नीतिका कारण व्यवसायीहरूको व्यवसायमा परेको नकारात्मक प्रभावका विषयमा आयोजित केवल टेलिभिजन व्यवसायीहरूको राष्ट्रिय भेलामा व्यवसायीहरूले सरकारले आफ्ना मुद्दाहरूलाई सम्बोधन गर्नुपर्ने बताएका हुन्।
व्यवसायीहरूले व्यवसायी मैत्री र उपभोक्ता मैत्री नीति ल्याउन जरुरी रहेको तर सरकारले सरोकारवाला निकायहरूसँग छलफल नै नगरी विरोध आउने किसिमका नीति ल्याएको बताए । उनीहरूले पोलसम्बन्धी भाडा बढाइएको कुराले अप्ठ्यारोमाथि अप्ठ्यारो थपेको बताए।
राज्यले ल्याएको नीतिअनुसार व्यवसायीहरूलाई काम नगर् भनेर घाँटी थिच्ने काम मात्र सरकारले गरेको औँल्याएका छन् । विद्युत् प्राधिकरणको पोल प्रयोग नगरी घर–घरमा टेलिभिजन नपुग्ने भएकोले प्राधिकरणले पोलको भाडा बढाएर जनताको सूचनाको हक खोस्न लागेको भन्दै प्राधिकरणले तोकेको पोल भाडाको मूल्य व्यवसायीहरूले तिर्न नसक्ने र तार काटिएमा घर घरमा टेलिभिजन प्रशारण नहुने बताए ।
सरकारको नीतिबाट अधिकांश क्षेत्र नै पीडित रहेको भन्दै व्यवसायीहरूले सबैको हित हुने गरी नीति निर्माण गर्न सुझाएका छन् । विद्युत् प्राधिकरणले पोलको भाडा ३५० प्रतिशत वृद्धि गरेपछि सरकारले सूचनाको हक खोस्न लागेको भन्दै केवल टेलिभिजन व्यवसायीहरूले काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेर आन्दोलन गरिरहेका छन् ।
केवल टेलिभिजन व्यवसायी महासङ्घको आयोजनामा देशभरबाट ४ सय भन्दा बढी व्यवसायीहरू उपस्थित भएका छन्। उनीहरूले सरकारको नीति र निर्णयका कारण आफ्नो व्यवसाय नै धराप हुन लागेको भन्दै आफूहरू बाध्य भएर राष्ट्रिय भेलामा सहभागी बनेको बताएका छन् ।