जबजको देवत्वकरण अथवा विकृतिको पक्षमा नेकपा एस नरहने
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ६ बुधबार
1.5k
Shares
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । बैठकमा जनताको बहुदलीय जनवादको सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिदै अध्यक्ष माधवकुमार नेपालले जबजको सारभूत विचारलाई पक्रँदै समाजवाद र समृद्धिको यात्रामा जाने कुरा बताएको प्रचार विभाव प्रमुख खतिवडाले जानकारी दिए ।
आफूहरू तत्कालीन एमालेले जस्तो जबज (जनताको बहुदलीय जनवाद) लाई देवत्वकरण अथवा जबजको विकृतिको पक्षमा नरहेको भन्दै त्यसबाट मुक्त हुन चाहेको अध्यक्ष नेपालले बैठकमा बताएको उनले उल्लेख गरे । उनले भने – ‘जनताको बहुदलीय जनवादको सन्दर्भमा उठेका प्रश्नहरूको बारेमा उहाँले प्रस्टीकरण दिँदै भन्नुभएको छ की, जनताको बहुदलीय जनवाद पनि मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासको सन्दर्भमा देखा परेको त्यसको सिर्जनात्मक अध्याय हो । यसलाई हामीले थप विकसित गर्नेछौँ ।'
अध्यक्ष नेपालले यसअघि एमालेले जबजलाई कुरूप गरेको या त वेद-पुराण जस्तो बनाएको आरोप लगाए। अध्यक्ष नेपालले भने- 'आजभन्दा अगाडी नेकपा(एमाले)ले जबजलाई कुरूप गर्दै गएको थियो । त्यसलाई बिरूप बनाउँदै गएको थियो । या त यसलाई देवत्वकरण गर्ने र जबजलाई वेद, पुराणजस्तो कहिल्यै परिवर्तन हुन नसक्ने बनाउँदै लगिएको थियो । या त यसलाई यति विकृत बनाइएको थियो कि जबजका आदर्श भनेकै आजका व्यवहारहरू नै जबजको आदर्श हुन् भने जबजको पनि काम छैन भन्ने ठाउँमा पुर्याउन लागिएको थियो । हामी त्यसबाट मुक्त हुन चाहन्छौँ । जबजका सारभूत विचारहरूलाई पक्रँदै समाजवाद र समृद्धिको यात्रामा जाने हामीले अठोट गरेका छौँ यो कुरालाई उहाँले अत्यन्तै प्रस्ट पार्नुभयो ।’
नेकपा (एकीकृत समाजवादी) पार्टीको मङ्गलवारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पाँच वटा समूह बनाइ समूहगत छलफलको निष्कर्ष बुधवारको बैठकमा समूह नेताले सुझावसहित प्रस्तुत गरेको र सो प्रतिवेदन महत्त्वपूर्ण सुझावहरूलाई समेटी पारित गरिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
समूह नं. १ बाट रामकुमार झाँक्री, समूह नं. २ बाट रामचन्द्र शाह, ३ बाट रमा आले, ४ बाट श्रीप्रसाद साह र ५ बाट दिनेश राईले राजनीतिक प्रतिवेदनमाथि आफ्नो समूहले गरेको छलफलको निष्कर्ष प्रस्तुत गरेको उनले जानकारी दिए।
बैठकले समाजवाद नामक पार्टीको मुखपत्र र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णय पनि गरेको छ । त्यस्तै नेताहरू मार्फत पार्टीको चुनाव चिन्हको सन्दर्भमा विभिन्न सुझावहरू आएको भन्दै पार्टीको चुनाव चिन्ह निश्चित गरी निर्वाचन आयोग जाने निर्णय गरिएको पनि विभाग प्रमुख खतिवडाले जानकारी दिए ।
पार्टी केन्द्रीय कमिटी बैठक भोलि (बिहीबार) बिहान ११ बजे पनि बस्ने र भोलिको बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूको अन्तिम टुङ्गो लगाइने पनि उनले बताए ।