arrow

उपेन्द्रलाई पार्टी फुट्ने चिन्ता, यसकारण गएका छैनन् सरकारमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २९ मंगलबार
upendra-yadav-president-jasapa.jpg
तस्वीर–फाइल ।

काठमाडौं । २०७७ वैशाखमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी ल्याएको अध्यादेशले उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टी झण्डै फुटिसकेको थियो । तत्कालीन समाजवादी पार्टीलाई फुटाउन लक्षित गरी उक्त अध्यादेश ल्याइएको थियो । 

प्रतिनिधि सभा सांसद सुरेन्द्र यादवलाई धनुषाबाट काठमाडौं ल्याउने क्रममा यसको पोल खुल्यो र पार्टी फुटाउने योजना बीचमै भत्कियो । त्यसपछि झस्किएका यादवले रातारात २०७७ वैशाख १० तत्कालीन राष्ट्रिय जनता पार्टीसँग पार्टी एकीकरण गराएका थिए । त्यसपछि उनी ढुक्क भए । 

अहिले पनि कसैलाई पार्टी फुटाउँछन् कि भन्ने डर उपेन्द्र यादवलाई छ । त्यसैले उनले राजनीतिक दलसम्बन्धी सरकारले ल्याएको अध्यादेश खारेज नभएसम्म आफूहरु सरकारमा नजाने स्पष्ट पारेका छन् । अध्यादेश खारेज नहुँदै सरकारमा गएमा सरकारमा जान नपाएकाहरू असन्तुष्ट भइ पार्टी  फुटाउने  हुन् कि भन्ने डर यादवलाई छ ।
 
जनता समाजवादी पार्टीका पाँच जना सांसदले मात्रै चाहने बित्तिकै जसपा फुट्ने अवस्था छ । पूर्व राजपामा रहेका महेन्द्र राय यादव, राजकिशोर यादव, मृगेन्द्रसिंह यादव, नरमाया ढकाल, प्रमोद साह लगायतका ७ जना सांसद अहिले जसपामै छन् । त्यसमा पनि जसपामा हुँदा अध्यक्ष उपेन्द्र यादव र राजकिशोर यादववीच भएको विवाद एक पटक सडकमै आएको थियो । 

राजकिशोरका कार्यकर्ता र अध्यक्ष यादवबीच फोनमा भएको चर्काचर्कीको अडियो रेकर्ड  पोहर साल भाइरल भएको थियो । राजकिशोरकै गृहजिल्ला सिराहामा राजकिशोरलाई माइनस गरी अतिथि राखेकोमा राजकिशोर असन्तुष्ट भएका थिए । उनले उक्त सभालाई बहिस्कारसमेत गरेका थिए । 

त्यसको केही समयसम्म उपेन्द्र यादव र राजकिशोरवीच बोलचाल नै बन्द भएको थियो । पछिल्लो समय राजकिशोरले उपेन्द्रलाई साथ दिएका छन् । 

२०७७ मा ल्याएको अध्यादेशबाट फाइदा उठाउँदै  रेणु यादव, प्रदीप यादव जस्ता उपेन्द्र यादवकै निकै विश्वासिलो मानिएकाहरूले झण्डै पार्टी फुटाउन खोजेका थिए । चर्को विरोध भएपछि ओली सरकारले अध्योदश फिर्ता लिएको थियो । 

स्रोत भन्छ, यसकारण राजनीतिक दलसम्बन्धी अध्यादेश जति सक्दो चाँडो खारेज गर्न यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई ताकेता गरिरहेका छन् ।

जसपाका कार्यकारिणी समितिका सदस्य मिगेन्द्रसिंह यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नहुँदा जसपा मात्र नभइ अन्य पार्टी पनि फुट्ने सम्भावना हुने बताए ।

‘त्यसैले जति सक्दो चाँडो यो अध्यादेश खारेज हुनु पर्छ’ उनले भने । यद्यपि जसपा फुटाउन अहिलेसम्म कसैले प्रयास नगरेको स्रोतले बतायो  । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ